अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३० | Colorodo: 17:45

फ्रान्सको ‘४६औं अन्तर्राष्ट्रिय सांस्कृतिक मेला’मा नेपाली कलाको प्रदर्शन

बिआरटीनेपाल २०७५ साउन २५ गते १५:०१ मा प्रकाशित

काठमाडौँ – युरोपको विभिन्न देश तथा सहरमा आयोजना भइरहेको ‘४६ औँ अन्तर्राष्ट्रिय सांस्कृतिक मेला २०१८’मा नेपालले पनि सहभागिता जनाएको छ । जुलाई १३ देखि अगष्ट २७ सम्म आयोजना हुने मेलाका लागि २० जना कलाकारहरूको एक जम्बो टोली अहिले फ्रान्स पुगेको छ ।‘नेपाल लोक तथा सांस्कृतिक प्रतिष्ठानको’ नेतृत्वमा कलाकार टोली फ्रान्स पुगेको हो । यो टोलीले फ्रान्सको मोन्तुवा, लुप्युभिले, पेल्तान लगायतका केही स्थानमा कार्यक्रम सम्पन्न गरिसकेका छन् । विश्वव्यापी कार्यक्रम अन्तर्गत युरोप पुगेको यो टोलीले फ्रान्स पछि टर्की, बेल्जियम लगायतका देशको विभिन्न सहरमा कार्यक्रम गर्नेछ ।

लोप हुन लागेका कला, संस्कृति, भेषभुषा, परम्परा, लोक गीत, लोक बाजा आदिको जगेर्ना गर्ने उदेश्यले कार्यक्रम लिएर कलाकार सहित युरोप पुगेको कार्यक्रम संयोजक तथा नेपाल लोक तथा सांस्कृतिक प्रतिष्ठान’का अध्यक्ष जोगेन्द्र केसीले बताए ।

विश्वका २२ देशका कलाकार सहभागी यो फेष्टिभल फ्रान्स, बेल्जियम, टर्कीका विभिन्न सहरमा आयोजना हुनेछ । नेपालबाट सहभागी कलाकार टोलीका संयोजक जोगेन्द्र केसी, कार्यक्रमको सल्हाकार सङ्गीतकार सुरेश अधिकारी, कार्यक्रमका प्रमुख गायक शिवराज पौडेल रहेका छन् ।

अन्य कलाकार नृत्य निर्देशक भूवनदास श्रेष्ठ, निरिपध्वज खत्री, सारदश्वती शर्मा, नृत्य निर्देशक छेडुप लामा, गायक तथा मोडल पिएन सापकोटा, मोडल पूर्णिमा श्रेष्ठ, माधव प्रसाद त्रिपाठी, ‘लेट मी डान्स सिजन–२’की विजेता खिमा काउचा मगर, न्हुछेराजा मुनिकार, दीपक श्रेष्ठ, सृर्जना आले मगर, सुनिता परियार, सन्तोष कुमार कार्की, दावा स्याङ्वो लामा तामाङ, धावा वाङ्देल, शर्मिला तामाङ, गोमा सुवेदी रहेका छन् ।

कार्यक्रममा पूर्वको हापारे, अरुण उपत्यकाको गीत सङ्गीत, मध्यमाञ्चलको घासे भाका, नेवारी, काठे भाका, पश्चिमाञ्चलको सालैजो, कौरा, मध्यपश्चिमाञ्चलको टप्पा, ठाडो भाका, मारुनी, सुदूर पश्चिमाञ्चलको देउडा, ठाडी भाकाको साथमा थारु, धिमे, लाखे, सेलो, कुमारी, मन्जु श्री, झाँक्रीलगायतका गीत तथा नृत्य प्रस्तुत गरिने कार्यक्रमका संयोजक केसीले जानकारी दिए ।

‘नेपाली कलासंस्कृती प्रदर्शन गरेर युरोपेलीको मन जित्ने उद्देश्य हो ’ केसीले भने ‘आगामी दिनमा अन्य देशमा पनि कार्यक्रम लिएर जाने संस्थाको योजना रहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू