अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४० | Colorodo: 08:55

देशभरका १०१ किसान संघसंस्थाहरु एकै ठाउँमा, किसानको हितमा साझा आन्दोलन गर्ने

बिआरटीनेपाल २०७५ साउन २५ गते १४:३३ मा प्रकाशित

काठमाडौँ– कृषि उपजले मूल्य नपाएपछि विभिन्न उत्पादनमा सम्लग्न किसानहरूले देशभर आन्दोलनको तयारी गर्दै एक ठाउँमा जुटेका छन् । तरकारी, फलफुल, दूध, केरा, च्याउ उत्पादन लगायतका १०१ कृषि सङ्घ संस्थाहरूको मङ्गलवार राजधानीमा बसेको बैठकले साझा आन्दोलन गर्ने निर्णय गरेको हो । उक्त कृषि सङ्घ संस्थामा करिब ५० हजार किसानहरू आबद्ध रहेका छन् ।

विभिन्न जिल्लाका कृषि सहकारी, समूह, प्रविधि सेवा तथा सामग्री प्रदायक सङ्घ संस्था तथा किसान संघ÷महासंघको प्रतिनिधित्व रहेको “नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जाल”ले मूल्य मारमा परेका किसानहरूको माग प्रति सरकार उदासीन रहेको भन्दै सरकारलाई थप दबाब दिन विभिन्न चरणका आन्दोलनको तयारी गरेको हो । सञ्जालले सातै उपदेश र सङ्घमा दवाबमुलक कार्यक्रहरु सञ्चालन गर्ने निर्णय गरेको छ ।

यसअघि श्रावण ९ गते सञ्जालले किसान आयोग मार्फत सरकारलाई १४ सुत्रिय माग पत्र पेस गरेको थियो । आयोगको सुझावलाई सरकारले तत्काल सुनुवाइ नगर्दा गोलभेँडा, दूध लगायतका किसानहरूले उत्पादन लागतसम्म पाउन नसकेको सञ्जालका संयोजक रमेश पण्डित ‘तुफान’ले बताए । संयोजक तुफानले भने, “अझै पनि सरकार उत्पादन र बजारीकरण नीति र प्रणालीमा स्पष्ट छैन । यसले गर्दा कृषि उपजको मूल्य लागत बढ्ने, टिपाई तथा ढुवानीबाट ४० प्रतिशत सम्म उपज नष्ट हुने तथा तरकारी बजार राज्यको नियन्त्रण बाहिर रहने गरेकोले किसानहरू मारमा पर्दै आएका छन् ।”
सञ्जालकी सल्लाहकार सुनिता न्हेम्हाफुकीले कृषि बजारिकरणलाई व्यवस्थित गर्न निश्चित स्थान र दुरीका आधारमा अन्य व्यवसायीसँगको सहकार्य गर्न सकिने सुझाव दिएकी छन् । सञ्जालका सचिवालय सदस्य खोजराज कटुवालले भारतीय सामानलाई निर्वाध आयात गर्न दिने तर नेपाली कृषि उपजहरूलाई रोक लगाउने नीतिले नेपाली कृषि उत्पादनले बजार नपाएको बताए । सरकारले नेपाली उत्पादनलाई भारतीय बजारमा पठाउन नसके भारतीय कृषि उत्पादन पनि नेपाल भित्रयाउन अवरोध गर्ने तयारी सञ्जालले गर्ने जानकारी कटुवालले दिए ।

नवलपरासी दुम्किवासमा ४२ बिघामा तरकारी तथा फलफुल उत्पादन गर्दै आएका सञ्जालका सदस्य दिर्घजीवी पोखरेलले कागतीको बजार नपाउँदा कुहाएर अचार बनाउनु परेको बताए । सञ्जालका सदस्य तथा केरा किसान सङ्घका प्रतिनिधि लक्ष्मण सुवेदीले स्थाई कृषि बजारको लागि अब अन्तिम लडाई लड्न किसानहरू तयार रहेको बताए ।

त्यसै गरी घरदैलो बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष गोदावरीकी गङ्गा देवी मूलले आन्दोलनले बजार व्यवस्थापन हुने विश्वासले आफू उत्सुकतापूर्वक आन्दोलनमा सहभागी भएको बताइन् । नेपाल कृषि उद्यमका मीन प्रसाद कोइराला ‘प्रतीक बाबा’ ले बैठकमा उपस्थित हुन नसकेका सबै संस्थाहरूलाई केही दिनमै एक दवाबमुलक सङ्घीय किसान भेला मार्फत सङ्गठित गरिने जानकारी दिए ।
सञ्जालको बैठकले किसानका हितमा काम गर्ने वास्तविक अन्य संघसंस्थाहरुलाई एकताबद्ध भएर राष्ट्रिय आन्दोलनमा अघि बढ्न अपिल गरेको छ । त्यसै गरी नेपालभरका दर्ता कृषि सहकारी तथा कृषक संघसस्थाहरु सञ्जालका सदस्य हुन सक्ने व्यवस्था गरेको छ । सञ्जालका सल्लाहकार डा. राजेन्द्र देवकोटाले उपजहरूलाई बिक्री वितरण गर्न स्वस्थ, ताजा र सुलभ कृषि उत्पादन सहितको किसान बजार निर्माण गरिने मोडलमा जान सकिने विकल्पमा पनि योजना बनिरहेको बताए ।

बैठकले ११ सदस्यीय सचिवालय गठन गरेको छ । जसमा संयोजक रमेश पण्डित तथा सदस्यहरूमा दिर्घजिवी पोखरेल, कृष्ण प्रसाद पाठक, खोजराज कटुवाल, मनोज चापिगाई, करुणा लोहनी, वसन्त पाण्डे र राजकुमार श्रेष्ठ छन् भने कार्यालयमा कमल श्रेष्ठ र दिनेश थापा रहेका छन् । त्यसै गरी सल्लाहकारहरू डा. केदार बुढाथोकी, डा. राजेन्द्र देवकोटा, महेश्वर घिमिरे, अनन्त घिमिरे, शिव अधिकारी, शम्भु कार्की, राम बहादुर कुँवर, ऋषिराम भुसाल, सुनिता न्हेम्हाफुकी रहेका छन् । सञ्जालमा ३३ जिल्लाका ८० प्रतिशत कृषि सहकारी तथा २० प्रतिशत समूह, निजी फार्महरू सङ्गठित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू