अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३४ | Colorodo: 17:49

पश्चिमाले नेपालमा धर्ममाथि योजनाबद्ध आक्रमण गरे– राप्रपा अध्यक्ष थापा

बिआरटीनेपाल २०७५ साउन २५ गते ९:३१ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपालको धर्म र संस्कृति माथि पश्चिमा मुलुकहरु मार्फत योजनाबद्ध तरिकाले आक्रमण भइरहेको वताउनुभएको छ । राप्रपाले शुक्रबार पोखराबाट शुरु गरेको ‘हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पश्चिमा राष्ट्रहरुले नेपालको पहिचान र एकताको सुत्र बनेको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण गरिरहेको आरोप लगाउनुभयो ।

हिन्दु राष्ट्र भगवानको पूजा आराधना वा उपसना गर्नका लागि मात्र लागि नभएको बताउँदै उहाँले नेपालीको पहिचान , एकताको सुत्र , समाज र राज्यको पहिचान गर्ने आधार तथा नेपालीको अस्तित्वको आधार पनि रहेको दावी गर्नुभयो । विदेशीको दवाब र प्रभाव तथा दलको निहित स्वार्थका कारण नेपालबाट हिन्दु राष्ट्र हटाइएको अध्यक्ष थापाको ठहर थियो । अध्यक्ष थापाले हिन्दु धर्ममाथि एक पक्षले भौतिक र अर्को पक्षले बौद्धिक आतंक मच्चाएको आरोप समेत लगाउनुभएको छ ।

पछिल्लो १०/१२ वर्षमा दशौं लाख नेपालीको धर्म परिवर्तन गराइएको दाबी गर्दै उहाँले थिचोमिचो, गरिवी र शोषणको नाममा आदिवासी, जनजाति र दलितलाई सबैभन्दा बढी धर्म परिवर्तन गराइएको जिकिर गर्नुभयो । थापाले हिमाल, पहाड र तराईदेखि, टोपी लाउनेदेखि धोती लाउनेसम्मलाई जोड्ने काम हिन्दु धर्मले गर्ने भएकाले हिन्दु धर्म एकताको सूत्र भएको दाबी गर्नुभएको छ ।

कार्यक्रममा वोल्दै राप्रपा उपाध्यक्ष दिलविकाश राजभण्डारीले धर्मविना लोक रहनै नसक्ने बताउँदै नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो । धार्मिक गुरु बलभद्र नाथ योगीले धर्म सकियो भने नेपालीको अस्तित्व नै सकिने चेतावनी दिनुभयो । राप्रपाले पोखराबाट सुरु गरेको ‘हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ देशका ७७ वटै जिल्लामा पु¥याईने जनाइएको छ । अभियानमा राप्रपा कार्यकर्तासँगै धार्मिक गुरु तथा भक्तजनहरुको समेत सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू