अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल – थप जग्गा अधिग्रहण गरिने, स्थानीय आन्दोलित

बिआरटीनेपाल २०७५ साउन २४ गते ९:२८ मा प्रकाशित

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले थप जग्गा अधिग्रहण गर्ने भएपछि पोखरा १४ चाउथेका बासिन्दा आन्दोलित भएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाई पोखराले थप जग्गा अधिकरण गर्ने भन्दै सूचना वडामा पठाएपछि स्थानीयहरू आन्दोलित भएका हुन । आयोजनाले थप ४ सय रोपनी भन्दा बढी जग्गा अधिग्रहणका लागि वडा कार्यालयलाई पत्र पठाएको छ । अधिग्रहण गर्ने भनिएको थप जग्गामा करिब १ सय ५० भन्दा बढी घरहरू रहेका छन् ।

स्थानीय संर्घष समितिका संयोजक गणेश पौडेलले एउटै आयोजनाले एकै व्यक्तिलाई पटक÷पटक उठाएर उठिबास भएको भन्दै आपत्ति जनाउनुभएको छ । आयोजनालाई विमानस्थलको ह्याङ्गर, आयल डिपोट, ग्लाइडपथ निर्माणका लागि जग्गा आवश्यक भएपछि जग्गा अधिकरण गर्न लागेको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिनुभएको छ ।

साविकको छिनेडाँडा वडा नम्बर १, २, ३ मा पर्ने जग्गा कार्यालयबाट पूर्व तर्फको सीमानाबाट ४ सय मिटर पूर्वतर्फ र दक्षिणतर्फ तारबारबाट ४० मिटर दक्षिण पूर्व भागमा करिब १ किलो मिटर क्षेत्रमा थप जग्गा अधिग्रहण गर्ने सम्भावना अध्ययनका लागि सर्वे गर्न लागेको आयोजनाले निकालेको सूचनामा उल्लेख छ ।

आयोजनाले साउन २२ गतेदेखि थप जग्गा अधिग्रहणको लागि सर्वे गर्ने भने पनि स्थानीयको अवरोधका कारण सर्वे हुन सकेको छैन । सरकारले अहिलेसम्म करिब ३२ सय जग्गा अधिग्रहण गरिसकेको छ । बिहिबार बिहान बसेको स्थानीयहरूको भेलाले गणेश पौडेलको संयोजकत्वमा २५ सदस्यीय संघर्ष समिति गठन गरेको छ । समितिले सबैसँग छलफल गरेर आन्दोलनका कार्यक्रम तय गर्ने वताईएको छ ।

यसैवीच, विमानस्थलको हालसम्म ५० प्रतिशत अर्थवर्क कार्य सम्पन्न भइसकेको र डिजाइनसहित १५ प्रतिशत काम सकिएको आयोजनाका वरिष्ठ अधिकृत इन्जिनियर कृष्ण पौडेलले जानकारी दिनुभएको छ । उहाका अनुसार विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाई र ६० मिटर चौडाईको हुने छ । विजयपुर खोलातर्फको भागमा साउन मसान्तसम्ममा काम सकिने जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू