अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:११ | Colorodo: 17:26

सद्गुरु ओशोसंग जोडिएपछि

गंगाधर भट्टराई २०७५ साउन २३ गते २०:११ मा प्रकाशित

भर्खरै यो वर्षको गुरु पूर्णिमा सकिएको छ । आ-आफ्ना गुरुप्रति श्रद्धा व्यक्त गर्ने यो दिनको आफ्नै महिमा छ । तर मेरो अनुभवमा, गुरुसँग जोडिएपछि हरेक दिन पूर्णिमा झैँ भई रहेको छ । गुरु स्मरण बिना कुनै सूर्योदय र कुनै सूर्यास्त भएको छैन । आज यही अहोभाव यहाँहरू समक्ष बाँड्न चाहन्छु ।

आजभन्दा करिब १३ वर्ष अगाडि जब म पढ्न भनेर काठमान्डु छिरे, पडाइसँगै एउटा पत्रिका पसल चलाएर आर्थिक व्यवस्थापन गर्न थाले । पसलमा विभिन्न प्रकारका मान्छेहरू आउँथे । ती मध्ये ओशोको माला लगाउने एक जोडीले मेरो ध्यान आकृष्ट गरेको थियो । त्यो जोडी पसल आउँदा अरू पत्रिकाका हेड लाइन पढ्थे अनि ओशोवर्ल्ड, ओशो टाईम्स जस्ता म्यागेजिन मात्रै किन्ने गर्थे । उनीहरू सरल, सफा, खुला मिजासका र इमानदार देखिन्थे । कहिलेकाहीँ उधारो पनि लग्ने गर्थे तर मैले कहिल्यै उनीहरूको खाता बनाइन, उनीहरू आफै सम्झेर दिन्थे । उनीहरूसंग एक प्रकारको अदृश्य गाढा सम्बन्ध बन्यो । उनीहरू गएपछि कहिलेकाहीँ म पनि त्यो ओशोवर्ल्ड म्यागेजिन पल्टाएर पढ्ने गर्थे, ओशो साहित्य प्रितीकर लाग्थ्यो, मनमा आनन्द दिने खालको थियो । म्यागेजिनका तस्बिरहरूले मलाई खिच्थे तर हाम्रो नेपाली समाजमा त्यो पाच्य र स्वीकार्य हुन्छ भन्ने कहिल्यै लागेको थिएन । ओशो र ध्यान विकसित र सम्पन्न समुदायको लागी मात्रै हो भन्ने लाग्थ्यो ।

समय क्रमसँगै पसल बेचेर म कुनै अफिसमा काम गर्न थाले । अफिसमा एक जना सहकर्मी केटी साथी जो माला लगाउँथिन् उनीसँग परिचय भयो । उनको बोलीमा स्पष्टता थियो, सोच्ने शैली बिलकुलै फरक थियो, सधैँ सफा र स्वच्छ देखिन्थिन्, अनुहारमा गाढा चमक थियो भने आहार विहारमा निकै सजग थिइन् । उनको आकर्षक सुल्झेको व्यक्तित्वले मलाई प्रभावित गरिरह्यो, पछि थाहा पाए उनी ओशोको ध्यान नियमित गर्दी रहिछन् । उनलाई भेटेपछि मलाई पत्रिका पसलमा भेटेको माला लगाउने जोडीको याद आयो । ओशो सन्यासप्रति एक प्रकारको धारणा विकास भयो ।

सहकर्मी साथीसँग मालाको बारेमा मैले जिज्ञासा राखे उनले सामान्य रूपमा बुझाउन खोजिन्, मैले बुझिन । उनले मलाई ओशोका दुई चारवटा किताबहरू पढ्नको लागि किनेर उपहार दिइन् । म पढ्न थाले र पढ्दापढ्दै रस लाग्दै गयो । मेरो अध्यात्मलाई हेर्ने दृष्टिकोण बदलिँदै गयो । आध्यात्मिक भनेको बुढेसकालको लागि मात्र हो, साठी वर्ष काटेपछि मात्र ध्यान गर्ने हो भन्ने मेरो अज्ञानी धारणा बदलियो ।

केही समयपछि एक दिन माला धारी साथीसँग टिचिंग हस्पिटलमा आयोजना गरिएको प्रवचन कार्यक्रममा जाने संयोग मिल्यो । “व्यस्त जीवनमा तनाव व्यवस्थापन “भन्ने विषयमा प्रवचन दिन उपस्थित थिए स्वामी आनन्द अरुण । उर्जावान र तेजस्वी आभाले भरिएका स्वामी अरुणको बोलीमा स्पष्टता र तर्कमा वैज्ञानिकता थियो । मेरो धारणाको धार्मिक फ्रेममा उनको सोच बिचार, हाउभाउ, उठबस, बोली व्यवहार पटक्कै मेल खाएन । मैले कल्पना गरेको धार्मिक मानिस र उनमा आकाश जमिन फरक पाए । म उनको विराट व्यक्तित्वको छोटो समयमै प्रशंशक भए । उनलाई एक पल्ट सुनेपछि मलाई ओशोलाई जान्ने उत्सुकता जागेर आयो । किताबहरू पढ्दै गए, जब मैले “सम्भोग से समाधिके ओर” नामक किताब पढे, मलाई अनौठो अनुभूति भयो । शरीरको ऊर्जालाई कसरी रूपान्तरण गर्न सकिन्छ भनेर वैज्ञानिक विधि दिइएको त्यो पुस्तक एउटा अनुपम प्रस्तुति हो । ओशोप्रति गहिरो सम्मान जागेर आयो र ध्यान गर्ने इच्छा भयो ।

म ध्यानको खोजमा बाफलमा रहेको ओशो आशिष् ध्यान केन्द्रमा नियमित डाइनामिक ध्यान गर्न थाले । लगातार ३२ दिन डाइनामिक ध्यान गरिएछ । लगत्तै दसैँमा घर पाल्पा गए । दशैको रमझम थियो, मन अडिएन, एउटा अदृश्य शक्तिले तान्दै गयो र टिकाको भोलिपल्ट तपोवनको सात दिवसीय ध्यान शिविरमा ध्यान गर्न आइपुगे । पहिलो पल्ट तपोवन गएको थिए, त्यहाँको आध्यात्मिक मादकताले लठ्ठीदै थिए, शिविरको एउटै ध्यान छुटाइन । ध्यानका नौला अनुभवहरू हुन थाले अत: ओशोको नवसन्यासमा दीक्षित भएर ओशोको माला लगाउने सौभाग्य पाए ।

सौभाग्यवस, ओशो सन्यासीसंग तपोवनमै स्वामी अरुणको अगाडी विवाह बन्धनमा बाँधिन पुगे । त्यसपछि त झन् हरेक शनिवार तपोवन जान थालियो । हप्ताभरिको दौड धूप, आपाधापी र काठमांडूको थकान तपोवनको प्राकृतिक सुन्दरतामा पुगेपछि सबै तिरोहित हुन थाल्यो । हरियाली जङ्गलमा बेफिक्री गुनगुनाइरहेका झ्याउकिरीहरुको आवाज, अनि आफ्नै धुनमा गाइरहेका चराचुरुङीहरुको मिठो स्वर सुन्दै ध्यानको चुस्की लिन लालायित हुन्छ मन । परिवार सहित तपोवनमा बिताएका पलहरू यादगार छन् । हिजो आज आमाछोरीलाई माइतीघर, मामाघर भन्दा प्यारो लाग्छ तपोवन । दश बर्से छोरी मृदुला बिदा हुने बित्तिकै तपोवन जान माग गर्छे ।

सद्गुरु ओशोसंग जोडिए पछिको बाह्र बर्से साधनाबाट के पाए के गुमाए भन्ने थाहा छैन ? मोक्ष के हो त्यो पनि थाहा छैन । मोक्ष पाउने हतारो पनि छैन । तर आफैलाई नियालेर हेर्दा १० वर्ष अगाडिको जस्तो जड्याहा जिन्दगी भने अब छैन । भट्टीको जीवन भक्तिमा पुगेको जस्तो भएको छ । आज तपोवन नहुँदो हो त मलाई बुद्धको धम्मपथ के हो थाहा नै हुने थिएन सायद । पहिले लुम्बिनी जाँदा एउटा पर्यटक भएर जान्थे, आज मायादेवी मन्दिरको ऊर्जा आँखा चिम्लिएर महसुस गर्न सक्ने भएको छु । ओशोसंग नजोडिएको भए शिबपुरी बाबाको स्वधर्म पत्तै नपाउने रहेछु, उहाँको समाधिको महिमा थाहै नपाउने रहेछु । ओशो ध्यान गर्दै गएपछि ऋषि केश, हरिद्वार, जगन्नाथ पुरी, देबघाट, मुक्तिनाथ, गोसाइँकुण्ड जस्ता तीर्थहरूको महिमा बुझ्न थालेको छु । ओशो सुनेपछि मोहम्मद (अल्लाह), मिरा अनि कृष्ण जस्ता बुद्धत्व प्राप्त गरेका व्यक्तिहरूको बारेमा जानियो । ओशोलाई हामी समक्ष चिनाउने सेतुको रूपमा रहेका स्वामी आनन्द अरुणको मुखबाट नानक, कबिर, गुर्जियफ जस्ता सन्तहरूको गाथा सुन्ने मौका मिल्यो ।

यो अवसर नपाएको भए म अन्धभक्त हिन्दु धर्मावलम्बी मात्र हुन्थे होला । तर आज हाम्रो घरमा भागवत गीतासँगै बाइबल, कुरान जस्ता पवित्र ग्रन्थहरू भित्रिएका छन् । मुसलमान भाइसँग अङ्कमाल गर्न सक्ने भएको छु, क्रिस्चियन साथीसँग एउटै भान्सामा खाना खाने भएको छु । ओशो र अरुण स्वामीजीको प्रवचन नसुनेको भए सायद म मुस्लिम साथीले मस्जिदमा गरेको नमाजलाई गिज्याउने थिए होला, गुरुद्वारामा माथा टेकेर वाहे गुरुको भजन गाउने सिख साथीसँग सङ्गत गर्दिन थिए होला ।

तपोवन गएपछि देख्न थाले तपोवन एउटा यस्तो विराट पाठशाला हो जहाँ संसार भरिका हरेक वर्ग र समुदायका मानिसहरू एउटै बिध्या सिक्छन्, त्यो हो प्रेम, ध्यान, करुणा र मैत्रीभाब । खोला, नाला, नदी, पोखरी, जङ्गल, जनावर, चराचुरुङी, वनस्पति, समुन्द्र, आकाश, तारा, ग्रह नक्षत्र, सूर्य चन्द्र्मा, विशाल अस्तित्वप्रति प्रेमपुण मैत्री भाव । मेरो लागि तपोवन तीर्थहरूको पनि तीर्थ हो । कावा, मक्का मदिना, गिर्जाघर, मस्जिद आदि सबै सबै तपोवन हो ।

स्वामी आनन्द अरुणले छयत्तर बर्से उमेरमा पनि सद्गुरु ओशोको देशना अनि ध्यानको सन्देश विश्वभर फैलाउन गरेको जोस, जागर देख्दाका साथ नतमस्तक हुन्छु म । उहाँले हालै प्रस्ताव गरेको बुद्ध पुर्णिामालाई विश्व ध्यान दिबसको रूपमा मनाउन पर्छ भन्ने विचारलाई म पूर्ण समर्थन गर्दछु ।

प्रिय सद्गुरु ओशो, ध्यान गर्ने बुद्ध क्षेत्र तपोवन र ओशोसंग हामीलाई जोडी दिनु हुने सेतुको रूपमा रहनु भएका स्वामी आनन्द अरुणसँग अहोभाब प्रकट गर्दै सबैलाई एकपल्ट ध्यानको स्वाद चाख्न आग्रह गर्दछु ।

प्रतिक्रिया