अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

विश्वभरिका होटेल स्कुलहरूको सम्मेलन नेपालमा हुने

“पर्यटन वर्ष २०२० प्रबर्द्धनका लागि विशेष अवसर”

बिआरटीनेपाल २०७५ साउन २३ गते १०:५५ मा प्रकाशित

दुई सयभन्दा बढी पर्यटन शैक्षिक प्रतिष्ठानको सहभागिता रहने

काठमाडौँ, विश्वभरिका होटेल व्यवस्थापन शिक्षा प्रदान गर्दै आएका होटेल म्यानेजमेन्टसम्बन्धी शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सङ्गठन इन्टरनेशनल एसोसिएसन अफ होटेल म्यानेजमेन्ट स्कुल्स् (इयूहोफा EUHOFA International को ५९ औ अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ । होटेल व्यवस्थापन एवं पर्यटनसँग सम्बन्धित शैक्षिक प्रतिष्ठानहरूको अन्तर्राष्ट्रिय सम्मेलन पहिलो पटक एसियामा हुन लागेको हो भने यसको आतिथ्यको अवसर नेपालले पाएको हो ।

सन् २०१९ को २६ देखि ३० नोभेम्बरमा इयूहोफाको ५९ औँ कङ्ग्रेस नेपालका आयोजना हुने लागेको हो । सन् २०१८ को ५८ औँ कङ्ग्रेस विश्वकै पहिलो होटेल स्कुल स्विजरल्यान्डको लुजानस्थित इएचएल स्थापनाको १२५ औँ वर्ष पूरा भएको अवसरमा स्विजरल्यान्डमा आयोजना गर्ने र सन् २०१९को कङ्ग्रेस नेपालमा आयोजना गर्ने निर्णय अनुसार यहाँ आयोजना हुन लागेको हो ।

यो सम्मेलनमा विश्वभरिका होटेल व्यवस्थापन एवं पर्यटनसम्बन्धी शैक्षिक प्रतिष्ठानका २०० भन्दा बढी डिन तथा उच्च तहका सञ्चालक/व्यवस्थापकहरू सहभागी हुने इयूहोफाका बोर्ड सदस्य खेम लकाईंले जानकारी दिनु भयो ।

नेपाल भ्रमणमा रहनु भएकी इयूहोफाका अध्यक्ष डा. मारिया विसिङ्गरले सम्मेलनको पूर्वतयारीबारे नेपालकासदस्य होटेल स्कुलहरू ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज), इन्टरनेशनल स्कुल अफ टुरिजम एन्ड होटेल म्यानेजमेन्ट (आईएसटी), एकेडेमी अफ कल्नरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्ट, नेपाल एकेडेमी एन्ड होटेल म्यानेजमेन्ट, सिल्भर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्ट, गोल्डेन गेटका प्रमुखहरूसँग छलफल गर्नु भएको छ ।

सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउन लागेको सन्दर्भमा नेपालमा विश्वभरिकै अग्रणी होटेल व्यवस्थापन शिक्षा प्रदायकहरू जम्मा हुनु अभूतपूर्व अवसर भएको बैठकका सहभागीहरूको भनाइ थियो । हाल नेपालमा ४० भन्दा बढी शैक्षिक प्रतिष्ठानहरूले होटेल व्यवस्थापन एवं पर्यटन शिक्षासम्बन्धी उच्चस्तरको शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् । सम्मेलनका समयसम्म अन्य होटेल व्यवस्थापन एवं पर्यटन शैक्षिक प्रतिष्ठानहरू इयूहोफाको सदस्य बन्ने अपेक्षा गरिएको छ ।

“विश्वका दुई सय होटेल व्यवस्थापन स्कुलका सञ्चालकहरूको सहभागितामा नेपालमा यस्तो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउनु हाम्रो लागि ठुलो अवसर हो । यो नेपालको पर्यटन उद्योगकै ठुलो उपलब्धि हुनेछ, किनकि सम्मेलनमा एक साथ आउने दुई सय होटेल व्यवस्थापन शिक्षा प्रदायकहरूले प्रवाह गर्ने सन्देशले विश्वभरि नै नेपालको पर्यटन उद्योगको प्रचारप्रसारमा निकै ठुलो योगदान पुग्नेछ,” इयूहोफाका बोर्ड सदस्य एवं गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईले भन्नुभयो ।

सम्मेलनमा नेपाल पर्यटन बोर्ड, होटेल सङ्घ नेपाल (हान), पाटासहित नेपालका पर्यटनसँग सम्बन्धित संस्थाहरूको समेत सहभागिताका लागि पहल भइरहेको उहाँले बताउनु भयो ।

इयूहोफा इन्टरनेशनलमा विश्वभरिका २ सय होटेल व्यवस्थापन शिक्षा प्रदायकहरू सदस्य रहेका छन् । उक्त संस्था होटेल व्यवस्थापन शिक्षालाई प्रभावकारी तुल्याउने, होटेल व्यवस्थापन तथा आतिथ्य सत्कारका क्षेत्रमा विश्वभरिका नव सिर्जना र उत्तम अभ्यासहरूको अनुसरण गर्ने, विद्यार्थी तथा शिक्षकहरूको आदानप्रदान गर्ने उद्देश्यसहित ५६ वर्षअघि युरोपमा स्थापना भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू