अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

पोखरामा खेलाडी छनोट र दशैं महोत्सव सँगसँगै गरिदै

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:३३ मा प्रकाशित

आठौं खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गर्न पोखरामा बृहत खेलकुद, मनोरञ्जन दशैं व्यापार महोत्सवको आयोजना गरिने भएको छ । जिल्ला खेलकुद विकास समितिले नेपाल मेला महोत्सव संघसँग मिलेर खेलाडी छनोटका लागि आगामी असोज २ देखि १४ गतेसम्म खेलकुद प्रतियोगितासहित व्यापार महोत्सव पनि गर्न लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो ।

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कार्यक्रम गर्न लागेको अध्यक्ष गुरुङले वताउनुभयो । जिल्ला खेलकुद विकास समितिले खेलकुदका इभेन्टहरु गर्ने र नेपाल मेला महोत्सव संघले वाल उद्यानसहित मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम गर्ने उहाँको भनाई छ । सो अवसरमा आठौं राष्ट्रिय खेलकुदमा खेलाइने फुटबल, भलिबल, कराते, बक्सिङ, जुडो, कुस्ती, स्क्वासलगायतका सबै खेलमा प्रतिष्पर्धा गराएर खेलाडी छनोट गरिने वताईएको छ ।

अध्यक्ष गुरुङले प्रतियोगिता आयोजना गर्न तथा छनोट भएका खेलाडीलाई क्लोज क्याम्पमा राख्न र उनीहरुका लागि खेल पोशाक खरिद गर्न रकम चाहिने भएकाले सो रकम मेलाबाट संकलन गर्ने उद्देश्यले रंगशाला हाताभित्रै महोत्सव आयोजना गर्न लागिएको वताउनुभएको छ । खेलकुद अवलोकन निःशुल्क रहने र महोत्सवतर्फ टिकट लाग्ने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया