अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३३ | Colorodo: 11:48

राष्ट्रिय सभा वैठक– समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

बिआरटीनेपाल २०७५ साउन २३ गते ९:२२ मा प्रकाशित

राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो समय भए पनि उनीहरुको उचित व्यवस्थापन नभएकामा गुनासो गरेका छन ।

सरकारले हलियालाई तीन लाख र घर मर्मतका लागि एक लाख दिने व्यवस्था गरेको भए पनि सरकारी कर्मचारीले सोही रकममा समेत घुस मागेको भन्दै उहाँले आपत्ति जनाउनुभयो । सांसद जीतेन्द्रनारायण देवले सर्वोच्च अदालतका तत्कालीन कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रको उचित छानबिन गर्नुपर्ने माग गर्नुभयो ।
सांसद वृजेशचन्द्र लालले तराई मधेशका नागरिकले नागरिकता नपाएकोमा गुनासो गर्नुभयो । सांसद विमला राई पौडेलले कञ्चनपुरमा पटकपटक बालिकाको बलात्कारपछि हत्या भएको भन्दै सरकारले कुनै पनि अपराधका बारेमा जानकारी नदिएको भन्दै यथोचित जानकारीको माग गर्नुभयो ।

सांसद भैरवसुन्दर श्रेष्ठले गत शनिबार जाजरकोट जिल्लामा पहिरोमा परी ९ जनाको निधन भएको भन्दै अव्यवस्थित तवरले निर्माण गरिएका सडकका कारण पहिरो आउने क्रम बढ्दै गएको सदनलाई जानकारी गराउनुभयो । अर्का सांसद राधेश्याम अधिकारीले कञ्चनपुरमा बालिका बलात्कारको विषयमा सरकारको धारणा सदनलाई जानकारी गराउन माग गर्दै काँडाघारीमा पछिल्लो पटक निशान खड्काको हत्या प्रकरणमा जोडिएका पात्र र प्रवृत्तिका बारेमा पनि उचित जवाफ गृहमन्त्रीले दिनुपर्ने माग गर्नुभयो ।

सांसद रामलखन चमारले नवलपरासीको गण्डक नहरका कारण भएको कटान, डुबानका कारण स्थानीयवासी समस्यामा परेको, समस्या समाधानका लागि पहल नभएको भन्दै गुनासो गर्नुभयो । गण्डक नहरका सम्बन्धमा भएको सम्झौता कार्यान्वयन गर्न भारत सरकारले तदारुकता नदेखाएको भन्दै सांसद चमारले सत्यतथ्य जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू