अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०९ | Colorodo: 10:24

प्रज्ञा प्रतिष्ठानमा लिभिङ टुगेदर

बिआरटीनेपाल २०७५ साउन २३ गते ६:५८ मा प्रकाशित

काठमाडौँ, नेपाली राजनीतिक क्षेत्रकी शान्ता चौधरी, नेपाली कला क्षेत्रकी दीपा श्री निरौला र नेपाली साहित्य क्षेत्रकी मोमिलाले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा नेपाली साहित्यको विविध विधामा सशक्त कृतिहरू दिँदै आएका साहित्यकार गोविन्द गिरी प्रेरणाको नविनतम कृति “लिभिङ टुगेदर” को संयुक्त रूपमा विमोचन गरे ।

विमोचनपश्चात् सम्बोधन गर्दै नेतृ तथा “कमलरीदेखि सभासद्सम्म” कृतिका लेखिका शान्ता चौधरीले गरे के हुँदैन भन्दै आफूले सभासद् हुँदा आफ्नो नाम हस्ताक्षर गर्न पाँच मिनेट लाग्ने गरेको स्मरण गर्दै गत साल ८ कक्षा पास गरेको र आगामी साल एसएलसी पास गर्ने बताइन् । उनले भनिन्, “लिभिङ टुगेदर ” मा समाजको कथा हुनुपर्छ । लेखकले अमेरिका बसेर पनि नेपाली साहित्य लेखेर नेपालमै विमोचन गर्नुको विशेष महत्त्व छ । उनले उपन्यासको सफलताको कामना गरिन् ।

नेपाली सिने जगतकी लोकप्रिय कलाकार दीपा श्री निरौलाले आफूले अमेरिका जाँदा लेखकसँग भेटेको सम्झना गर्दै यो उपन्यास कतै छक्का पञ्जा चलचित्रको नयाँ श्रृङ्खला पनि बन्ने पो हो कि समेत भनिन् ।

नेपाली साहित्य डटकमकी अध्यक्ष तथा कवयित्री मोमिलाले कवितात्मक शैलीमा बोल्दै नपढेको उपन्यासको चर्चा गर्न नसकिए पनि उपन्यासको पछाडि उद्धरण गरिएको अंशले लेखनको छनक दिएको बताउँदै त्यो अंश पढेर सुनाइन् र उपन्यासले सकारात्मक चर्चा पाओस् भन्ने कामना गरिन् ।

“लिभिङ टुगेदर” कृतिका लेखक गोविन्द गिरी प्रेरणाले आफू नेपाल वा नेपाल बाहिर जहाँ बसे पनि लेखनमा निरन्तर लागिरहेको र निरन्तर लागिरहने बताउँदै यो उपन्यास सन् २०१६ मा १०५ दिनमा लेखेको बताए ।

विना कुनै सभापति र विना कुनै प्रमुख अतिथि सम्पन्न सो विमोचन समारोहमा विशेष वक्ता पनि कोही थिएनन् । विमोचन कर्ता अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरूलाई विमोचन पूर्व पुस्तक उपलब्ध गराइएको थिएन । विमोचन समारोहमै उनीहरूले पुस्तक देखेका थिए । कार्यक्रम ३५ मिनेटमै सम्पन्न भएको थियो ।

कार्यक्रम कवि तथा टेलिभिजन कार्यक्रम प्रस्तोता ठाकुर वेल्वासेले निकै चाखलाग्दो ढङ्गले सञ्चालन गर्दै साहित्यकार गोविन्द गिरी प्रेरणाको विस्तृत परिचय समेत प्रस्तुत गरेका थिए ।
पुस्तक वीएन पुस्तक संसारले प्रकाशनमा ल्याएको हो । यस अघि यो कृति जापानको टोक्योमा गत साउन १३ गते विमोचन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू