अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

विस्थापन हुँदै साना सवारी

लक्ष्मण दर्नाल, गोरखापत्र २०७५ साउन १८ गते २२:५७ मा प्रकाशित

काठमाडौँ, साना सार्वजनिक सवारी साधन विस्थापन गरी सुविधा सम्पन्न ठुला सवारी साधन सञ्चालन गर्ने क्रम बढिरहेको छ । संस्थागत रूपमै सार्वजनिक सवारी नयाँ रुटहरूमा सञ्चालन भइरहेका छन् । काठमाडौँ महानगरपालिका, नगर विकास कोषले ठुला सवारी साधन सञ्चालनमा प्रोत्साहन गरिरहेका छन् । महानगर आफैँले ठुला सवारीसाधनमा लगानी गरिरहेको छ ।

यसै क्रममा साउन २३ देखि नयाँ बसपार्कदेखि सिना मङ्गल रुटमा ठुला सवारी साधन सञ्चालन गरिँदै छ भने साना सवारीको व्यवस्थापन गरिने भएको छ । माइक्रो र टेम्पो सञ्चालन हुँदै आएको सो रुटमा दिगो सार्वजनिक यातायात प्रालिले ठुला बस सञ्चालन गर्न लागेको हो । प्रालिका सचिव लालप्रसाद गुरागाईंका अनुसार सो रुटमा १७ वटा बस सञ्चालन गरिँदै छ । उहाँले भन्नुभयो, साना सवारीसाधनले यात्रुको चाप अनुसार सवारी गर्न सक्दैनन्, सडक जाम मात्र हुन्छ यात्रु कष्टकर यात्रा गर्न बाध्य छन्, समयमा गाडी पाइँदैन पाए पनि उभिएर, कोचिएर यात्रा गर्नुपर्छ, यात्रुको समस्यालाई ध्यानमा राखी हामीले बस सञ्चालन गर्न लागेको हौँ ।

दिगो यातायातका बस नयाँ बसपार्कबाट गाेंगबु, लैनचौर, रत्नपार्क, डिल्लीबजार, मैतीदेवी र पुरानो बानेश्वर हुँदै सिनामङ्गलसम्म सञ्चालन हुनेछन् । करिब नौ किलोमिटरको उक्त रुटमा हाल टेम्पो र माइक्रो बस गरी ६६ वटा सवारी साधन सञ्चालनमा छन् । नयाँ बस सञ्चालनका लागि नगर विकास कोषको ८० प्रतिशत, एसियाली विकास बैङ्कबाट १५ प्रतिशत सहुलियत ऋण लिइएको छ भने कम्पनीले पाँच प्रतिशत लगानी गरेको छ । नयाँ सञ्चालन हुन लागेको बसहरूमा जीपीएस जडान गरिएको कम्पनीले जनाएको छ । बस कहाँ आइपुग्यो भनेर यात्रुले जानकारी पाउने छन् । डिजिटल कार्डबाट भाडा तिर्न सकिने छ । गाडी चल्ने रुटको नक्सा राखिएको छ । यात्रुको सुरक्षाका लागि दुवैतर्फ सिसी क्यामेरा राखिएको छ । फ्री वाइफाइका साथै एलइडी टिभी राखिएको छ । अपागङ्तामैत्री बस भएकाले ह्विलचियर राख्ने व्यवस्था बसमा गरिएको छ । फराकिलो गल्ली भएकाले र स्ट्रयाम्पको व्यवस्था भएकाले उभिएरै भए पनि सहज यात्रा गर्न सकिने कम्पनीको दाबी छ । आरक्षित सिटहरूलाई फरक–फरक रङले छुट्ट्याएको छ । बसमा ४० वटा सिट रहेका छन् ।

पछिल्लो समय सुविधा सम्पन्न ठुला सवारी साधन उपत्यकामा सञ्चालन हुने क्रम बढेको छ । साझा यातायात, महानगर, मयुर, मेट्रो सिटी, नेपाल यातायात, कीर्तिपुर, मेट्रो यातायातलगायतका दर्जनौँ संस्थागत सार्वजनिक सवारीसाधनह सञ्चालनमा छन् ।

काठमाडौँ महानगर पालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगरका कम्तीमा पाँच सय वटा सरकारी ठुला बस चाहिने बताउनुभयो । महानगरका अनुसार साझा यातायातले बसहरू थप्दै छ तर त्यसले मात्र पुग्दैन । महानगर डबल बस (दुईवटा जोडिएको) ल्याउने सोचमा रहेको उहाँले जानकारी दिनुभयो ।

ट्राफिक व्यवस्थापनका साथै यात्रुको सहजताका लागि विभागले उपत्यकाका झन्डै दुई सय वटा रुटलाई ६६ वटामा समायोजन गरी सञ्चालन गरिएको छ । बसपार्क, लैनचौर, मैतीदेवी, सिना मङ्गल रुटलाई एस ५ भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू