अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

दुई तिहाइ भूकम्प पीडित दोस्रो किस्ता अनुदान लिन आएनन्

बिआरटीनेपाल २०७५ साउन १८ गते २२:४७ मा प्रकाशित

म्याग्दी, साउन १९ गते । जिल्लाका दुई तिहाइ भन्दा बढी भूकम्पपीडितले अझै निजी आवास पुनःनिर्माणका लागि अनुदानको दोस्रो किस्ता लिन आएका छैनन् । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्पपीडितको निजी आवास पुनःनिर्माणका लागि २०७५ असार मसान्तसम्मको समय सीमा तोकेको थियो । विभिन्न माध्यमबाट पहल गरिए पनि दुईतिहाइभन्दा बढी भूकम्प पीडित दोस्रो किस्ता अनुदानका लागि अझै सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।

उक्त एकाइका अनुसार भूकम्पबाट कम प्रभावित १७ जिल्लामा पर्ने म्याग्दीका ७८० ले पहिलो किस्ताबापतको रु। ५० हजारका दरले करिब रु चार करोड अनुदान लिएका थिए । हालसम्म २२० ले दोस्रो र १६ ले मात्र तेस्रो किस्ताबापतको रकम लिएका छन् ।

प्राधिकरणले २०७५ पुस मसान्तसम्म अन्तिम तथा तेस्रो किस्ताबापतको अनुदान वितरण गरिसक्ने लक्ष्य राखे पनि तोकिएको समयमा दोस्रो किस्ताबापतको अनुदान लिन नआएका पीडितलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन । पहिलो किस्ता रु ५० हजार र दोस्रो किस्ता रु एक लाख ५० हजारका दरले अनुदान वितरण गर्ने व्यवस्था भएको एकाइ प्रमुख शिवराम गेलालले जानकारी दिनुभयो ।

विसं२०७३ पुसमा प्राधिकरणका प्राविधिकले स्थलगत सर्वेक्षण गर्ने क्रममा ८६८ निजी घरमा भूकम्पले क्षति गरेको पहिचान गरेको थियो ।

केहीले भने समयमै प्राविधिक सेवा नपाएकाले घर बनाए पनि अनुदान पाउन ढिलाइ भएको अन्नपूर्ण गाउँपालिका–६ घारका हिमबहादुर खड्काले बताउनुभयो । पुनः निर्माण प्राधिकरणले बेनी नगरपालिकामा दुई, धौलागिरि, मालीका, मंगला, रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा एक–एक प्राविधिक खटाए पनि आफूहरूले सेवा पाउन नसकेको पीडितको गुनासो छ ।

घर बनाउन सुरु गरेका गरिब विपन्न वास्तविक भूकम्प पीडित भने ऋण पाए पनि निर्माण सामग्रीमा भएको मूल्यवृद्धि र दक्ष कामदार अभावका कारण समस्यामा परेको मं गला गाउँपालिका–२ का दधिलाल विश्वकर्माले बताउनुभयो ।

सग्लै घरलाई भत्किएको कागज बनाएर र मापदण्ड विपरीत दुई ठाउँमा घर भएकाले समेत पहिलो किस्ता अनुदान बुझेका पुनः निर्माणले गति लिन नसक्नुको प्रमुख कारक बनेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू