अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५७ | Colorodo: 13:12

कुलुङहरुको जिल्ला कार्यक्रम समिति पुनगर्ठन कार्यक्रम सम्पन्न

अनुज कुलुङ, बिरेठाटी, कास्की २०७५ साउन १८ गते २२:४२ मा प्रकाशित

गत शुक्रवार नेपाल किराँत कुलुङ भाषा संस्कृति उत्थान सङ्घ जिल्ला कार्यसमिति कास्कीको पुनर्गठन कार्यक्रम अन्नपूर्ण गाउँपालिका ८ बिरेठाटीमा भव्यताका साथ सम्पन्न भएको छ ।
कुलुङ सङ्घको केन्द्रीय अध्यक्ष चन्द्रसिंह कुलुङको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । २०६९ सालमा पहिलो पटक महेश थिम्राको अध्यक्षतामा ११ जना पदाधिकारीहरूको चयन भई २०७२ सालमा साधारण सभा गरी खुसी कुलुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । 

कार्यसमिति चयन भएता पनि प्राविधिक कारणले संस्था निष्क्रिय रहिरहेको अवस्थामा पुनः पुनर्गठन कार्यसमिति चयन गर्नुपर्ने आवश्यकता भएकोले नयाँ कार्यसमिति गत शुक्रवार महेश थिम्रा कै संयोजकत्वमा चयन भयो । यसै गरी उप संयोजक तारा होङेलु, सदस्य सचिव अनुज मुम्हो, कोषाध्यक्ष परम मोरोखु, सदस्यहरू सिलास गेप्दुलु, प्रेम थिम्रा, मणिकुमारी थिम्रा, अनिल थिम्रा, लकु तोमोछा (सुब्बा), इन्द्र ङोपोचो र एलन गान्खु गरी ११ सदस्यीय कार्यसमिति चयन भयो ।

नयाँ कार्यसमितिलाई बधाई अनि शुभकामना दिँदै कुलुङ सङ्घ जिल्ला कार्यसमिति मोरङका अध्यक्ष टेक बहादुर मोरोखुले भने “मोरङमा कुलुङ सङ्घ निकै सक्रियता साथ अघि बढेको कारणले त्यस ठाउँमा राजनीतिक क्षेत्र र सरकारी तवरबाटै हामीलाई निकै सकारात्मक रूपमा आर्थिक एवम् नैतिक सहयोगहरू पाइरहेका छौ । ” ।  

त्यसै गरी कुलुङ सङ्घ जिल्ला कार्यसमिति सुनसरीका अध्यक्ष आशधन रिन्होले “आफ्नो भाषा संस्कृति र जाति बचाउन युवाहरूको चासो निकै कम देखिन्छ । युवाहरूको चासो र सक्रियता अति आवश्यक कुलुङ सङ्गठनलाई आवश्यक छ ।” भन्दै सुझाव सहित बधाई अनि शुभकामना दिए ।

“कुलुङ लगायत अन्य धेरै जातिहरूको भाषा, संस्कृति लोप हुँदै गइरहेको र राज्यबाट पाउनुपर्ने अधिकारबाट वञ्चित भइरहेको अवस्थामा आफ्नो हक अधिकारको लागि विभिन्न आन्दोलन र मागहरू भइराख्दा पनि राज्यबाट सुचिकरण नभई रहेको अवस्थामा हरेक ठाउँमा कुलुङहरुको एकता मजबुत हुन आजको आवश्यकता हो ।” भन्दै प्रमुख अतिथि चन्द्रसिंह कुलुङले बताउनुभयो । उहाँले कुलुङ सङ्गठनको इतिहास र भावी रणनीतिको बारेमा पनि कार्यक्रममा बोल्दै चाँडै नै जिल्ला कार्यसमितिको संयोजकत्वमा अन्य इकाई कमिटी पनि गठन गरेर काम गर्न सुझाव दिनुभयो ।

कास्की जिल्लामा कर्मथलोको रूपमा, बसाई सराई भएर जिल्लामै रहिरहेका र विभिन्न कारणले जिल्लामा लामो समयदेखि बसिरहेका सम्पूर्ण कुलुङहरुको एकता, भाषा संरक्षण र संस्कृति उत्थानको निम्ति कार्यसमिति गठन गर्न आवश्यक रहेको कार्यक्रम संयोजक प्रदीप कुलुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू