अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:११ | Colorodo: 23:26

मन्त्रीपरिषद् विस्तार, दुई मन्त्री र एक राज्यमन्त्रीद्धारा शपथ ग्रहण

बिआरटीनेपाल २०७५ साउन १८ गते ८:५५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पाचौं पटक मन्त्रीपरिषद् विस्तार गर्नुभएको छ । शुक्रबार दुई मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएसंगै नेकपा नेतृत्वको वर्तमान सरकार २२ सदस्यीय वनेको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल र भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

ढकाल मोरङ र अर्याल स्याङ्जाबाट निर्वाचित नेकपाका सांसद हुनुहुन्छ । विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएपछि कानुन मन्त्रालय खाली थियो । उता स्वास्थ्य राज्यमन्त्री रहनुभएका अर्याल भने मन्त्री वन्नुभएको हो ।
शुक्रबार नै राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति थियो । ओली नेतृत्वको सरकार २०७४ फागुन ३ गते गठन भएको थियो । यसअघि, फागुन १४, चैत २ र जेठ १८ गते मन्त्रिपरिषद विस्तार गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू