अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 02:39

देश आफै बन्दछ

राज बाबु श्रेष्ठ 'सागर' २०७५ साउन १७ गते १७:५२ मा प्रकाशित

जताततै ढुङ्गा मुढा बर्सिन थाले
भत्किए पौवा पाटी अनि सडकमा लगाइएका बारहरू
रोडमा ठिङ्ग उभिएका
मुर्कुट्टा झैँ मक्किएका काठका खामोहरुमा
माकुरोको जालो जेलिए जस्तै सपनाका
ती नाङ्गा तारहरू
एक हुल आएर अचानक हल्लाउन थाल्दछ र ढाल्दछ
ती मक्किएका आस्थाका पोलहरू
अनि गरिबका सपनाका महलहरू
गुन्जिन्छ नाराहरू
जिन्दाबाद, मुर्दावाद/ मुर्दावाद, जिन्दाबाद
फेरि अर्को हुल आएर ढाल्दछ
चार दोबाटोमा ठिङ्ग उभिएर बसेका
सेतै केस फुलेका हजुरबाहरू
तप्प तप्प चुहिन थाल्द छ
आमाको नयनबाट वेदनाका आँसुहरू ।

जुलुस अगाडि बढ्दै छ
देश बनाउने नारा गुन्जिँदै छ
एउटै आमाका वीर छोराहरू एकर्कामा
धारिलो तरबारको सस्तो बलि बन्दै छ
रङ्गिए रकताम्य भई आकाशमा
मडारिएका आशाको कालो बादलहरू
आस्थाका भगवानहरु बाट नै
झुन्डिए घाँटीमा मान्छेका निर्दोष ती टाउकाहरू
किनकि अचेल मन्दिरमा
पूजाको बलि दिन महङ्गो पर्दो रहेछ बलिका बोकाहरू
यहाँ केवल छ त निर्दोष मान्छेका
सस्तो टाउकाहरू ।

दिनदिनै घट्दै छन् लास बोक्ने मलामीहरू
बन्दुक बोक्नेले बन्दुक बिसाए
नबोक्नेले बोके छातीमा हिंसाका बारुदको गोलाहरू
भड्काए हिंसा जताततै जातीय र धर्मको
मन्दिर र मस्जिदमा शत्रुताको सोलाहरू
नारा गुन्जिन्छ फेरि देश बनाउनेको
राष्ट्रियताको
तर देख्दिन म हातमा कसैको झन्डा चन्द्र र सूर्यको
छ त फगत आँखामा कालो पट्टी
हिंसाको खुर्पा स्वार्थको ठुलो एउटा रातो तुल
जसमा लेखिएको छ ”’आऊ बुद्ध देश बनाऊ” ।

ए मूर्खहरू हो !
बुद्धकोको नाउँमा हिंसा मच्चाएर कसरी देश बन्दछ ?
शान्तिको नाउँमा बारुदको तोप पड्काएर
कसरी शान्ति आउँदछ ?
बनाउनु नै छ भने देश पहिले
ढलेका स्वाभिमानको पर्खालहरू उठाउन सिक
बनाउनु नै छ भने देश पहिले
आफ्नै आमाको मिचिएका सिमानाहरूमा
स्वाभिमानका स्तम्भका दसगजाहरु गाड्न सिक ।

बनाउनु नै छ भने देश पहिले कालो रातमा
जुनले आफूलाई जिस्क्याई रहने आफ्नै घरको
छानो टाल्न सिक
स्वार्थको निस्पट्ट अँध्यारोलाई
आफ्नै निस्स्वार्थ खुट्टाले टेकेर पूर्वमा उदाउने सूर्य
आफ्नै हतकेलामा बाल्न सिक
बदल्नु नै छ भने देश पहिले
असमझदारीका बारुदको तोपलाई डढेलो लगाऊ
रोप्नु नै छ भने शान्तिको बीज देशमा
रोप टुडीखेलमा बोधिबृक्ष
बुद्ध फेरि जन्मि रहनु पर्दैन ।

देशलाई माथि उठाउनु नै छ भने
ब्युँझाऊ गएर ती आत्माहरूलाई जो कुम्भकर्णको
निद्रामा झैँ सुतिरहेका छन्
नयाँ नेपालको निर्माण नै गर्नु छ भने
उठाऊ गर्ल्याम्म ढलेका सत्यनिष्ठाको धरोहर
गर सुरक्षा अस्मिताको आफ्नै दिदी र बहिनीको
बोक झन्डा सिङ्गो राष्ट्रियताको
चौडा बनाऊ सिँगारिएका विचारका बाटोहरूको
उठाऊ गुम्बा शान्तिको
लगाऊ जुलुस स्वाभिमानी क्रान्तिको
नारा लगाइरहनु रहनु पर्दैन शान्ति आफै आउँदछ ।

हुँदैन जहाँ केही
जसले आफ्नै आमालाई ढाँट्द छ
हुन्छ त्यहाँ सबै चीज
आफै भित्र बसिरहेको विषालु स्वार्थको सर्पलाई
आफ्नै स्वविवेकको धारिलो तरबारले काट्दा छ
के सम्भव हुन्न र त्यहाँ ?
जहाँ पसिना र रगतको रङ्ग एक भई
जसले आफ्नो देशको पहिलो जग खन्द छ
त्यसैले त बनाई रहनु पर्दैन
देश आफै बन्दछ ।

महोत्तरी, गौशाला नगरपालिका, वडा न. १

सम्बन्धित सामग्रीहरू