अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३५ | Colorodo: 09:50

न्यूयोर्कमा ढकाल सुमधुर सांझ सम्पन्न

कृष्ण भट्टराई २०७५ साउन १६ गते २३:०० मा प्रकाशित

न्यु योर्क– लोकप्रिय गायक रामकृष्ण ढकालले अमेरिकाको न्यूयोर्कमा पहिलो पटक एकल गायन कार्यक्रम प्रस्तुत गरेका छन् । स्वदेशमा धेरै पटक आयोजना भैसकेको उनको ‘ढकाल सुमधुर साँझ’ कार्यक्रम विदेशमा पहिलो पटक आयोजना भएको हो । 

कार्यक्रमको समापनपछि गायक ढकालले अमेरिकाको ढकाल सुमधुर साँझ ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् । कार्यक्रममा ढकालले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरेका थिए । कार्यक्रम अवधिभर गायक ढकाललाई उपस्थित दर्शकहरूले समेत राम्रो साथ दिएका थिए । गीत सुन्न क्रममा दर्शकहरू भावुक समेत बनेको देखिएको थियो ।

एकल गायनको थालनी गायक ढकालले आफ्नो लोकप्रिया राष्ट्रिय गीत ‘बिहान उठ्ने बित्तिकै’ बाट गरेका थिए । नेपाली राष्ट्रिय पहिरनमा सजिएका गायक ढकालले गीत गाइरहँदा दर्शक दिर्घामा भावुकता छाएको थियो । त्यसपछि गीतको मुडअनुसार दर्शकको भाव बदलिँदै गयो । कार्यक्रम यतिसम्म लोकप्रिैय भयो कि कार्यक्रम आयोजना भएको प्रेक्षालयमा क्षमताभन्दा बढी सङ्ख्यामा दर्शकहरू आएका थिए । अहिलेसम्म देश बाहिर प्रस्तुत गरेका कार्यक्रममा यो स्मरणीय रहेको गायक ढकालको प्रतिक्रिया छ ।

आफ्नो एकल गायन कार्यक्रममा गायक ढकालले अमेरिकामै बसोबास गरिरहेका लोकप्रिय नेपाली वाद्यवादकहरुको साथ पाएका थिए । कार्यक्रममा गायक ढकाललाई ६ जना वाद्य वादकहरूले साथ दिएका थिए । बांसुरीमा सुशील विश्वकर्मा, तबलामा प्रमोद उपाध्याय, गितारमा विष्णु सुनुवार, बेस गितारमा शिशिर श्रेष्ठ, किबोर्डमा डेभिड ढकाल तथा अक्टोप्याड मादलमा न्हुच्छेमान डङ्गोलले साथ दिएका थिए ।

मितेरी ग्रुप समूहको हिमालयन इभेन्ट्सद्वारा आयोजित कार्यक्रमको संयोजन अभय ढुङ्गेलले गरेका हुन् । कार्यक्रममा अमेरिका स्थित नेपाली राजदूतावासका वाणिज्य दूत कृषु क्षेत्रीको पनि उपस्थिति थियो ।

करिब तीन तीन घण्टासम्म सञ्चालन भएको उक्त कार्यक्रममा गायक ढकाललाई स्थानीय कलाकारहरू बसन्ती राई र दीपा ढुङ्गेलले युगल गायनमा साथ दिए ।