अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

सरकारविरुद्ध नेपाली कांग्रेस सड्कमा, देशैभर प्रदर्शन

बिआरटीनेपाल २०७५ साउन १५ गते ८:२७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल काङ्ग्रेसले सरकारका काम कारवाहीको विरोधमा देशका ७७ वटै जिल्लामा प्रदर्शन गरेको छ । सरकार सर्वसत्तावादतर्फ उन्मुख भएको भन्दै काङ्ग्रेसले सडक र सदन दुवैतर्फबाट आन्दोलन चर्काउने पूर्वघोषणा गरेअनुरुप मंगलबार ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेसले विरोध प्रदर्शनका क्रममा ओली सरकारको राज्य आतंक बन्द गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग गरेको थियो । कांग्रेसले भ्रष्टाचार र कुशासनविरुद्ध पनि सडकमा उत्रिनुपरेको जनाएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशनअनुसार आयोजना गरिएका विरोध प्रदर्शन कार्यक्रमहरुमा जिल्ला–जिल्ला पुगेका केन्द्रीय तहका नेताहरुले सरकारलाई दुईतिहाईको दम्भ देखाएर मुलुकमा कम्युनिष्ट शासन स्थापना गर्ने सपना नदेख्न चेतावनी दिएका छन् । उनीहरुले कांग्रेस रहँदासम्म नेपालमा लोकतन्त्र विरोधी कम्युनिष्ट शासन आउन नसक्ने दाबी गरेका छन् ।
गत साउन १ गते पदाधिकारी बैठक बसेर काङ्ग्रेसले साउन १५ सम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । साउन ३, ५ र ८ गते काङ्ग्रेसका भातृ संगठनको अगुवाईमा माइतीघर र बानेश्वरमा भएका विरोध प्रदर्शनमा डा.गोविन्द केसीका माग प्राथमिकतामा थियो ।

तर, डा.गोविन्द केसी र सरकारबीचको सहमतिपछि काङ्ग्रेसले आफ्नो आन्दोलन अन्य विषयमा केन्द्रीत गरेको थियो । पहिलो चरण अन्र्तगत आज (मंगलवार) देशभरका जिल्ला सदरमुकाममा गरेको विरोध प्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै आन्देलनमा जनसमर्थन प्राप्त भएको काङ्ग्रेसको दावी रहेको छ ।

पहिलो चरण अन्र्तगत साउन १५ सम्मको कार्यक्रम सकेपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने कि नगर्ने भन्ने विषयमा चाँडै पदाधिकारी बैठक बसेर निर्णय गर्ने काङ्ग्रेसले जनाएको छ । यद्यपी, तत्काल सडक संघर्षका कार्यक्रम घोषणा नगर्ने काङ्ग्रेसले जनाएको छ ।

काङ्ग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पहिलो चरणको कार्यक्रम भव्य रुपमा सम्पन्न भएको भन्दै दोस्रो चरणका कार्यक्रम घोषणा गर्ने या नगर्ने भन्ने चाँडै निर्णय गरिने जानकारी दिनुभयो । अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमबारे छलफल गरेर निर्णयमा पुग्ने प्रवक्ता शर्माको भनाई छ । आजको विरोध प्रदर्शनमा देशभर ५ लाख मानिस सडकमा उत्रिएको दावी गर्दै काङ्ग्रेसले पार्टीप्रति जनताको साथ रहेको पुष्टि भएको दावी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू