अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२६ | Colorodo: 02:41

खेलकुदलाई समृद्धीसँग जोडौं – युवा तथा खेलकुद मन्त्री वि.क.

बिआरटीनेपाल २०७५ साउन १२ गते ९:११ मा प्रकाशित

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदलाई देशको समृद्धीसँग जोड्नुपर्ने वताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा नेपाल राष्ट्रिय वाणिज्य संघ, नेपाल राष्ट्रिय उद्योग व्यापार संघ र उद्योग तथा व्यवसायी संघले शनिबारदेखी पोखरामा आयोजना गरेको गण्डकी प्रदेश स्तरीय व्याडमिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले खेलकुदको विकास गर्न सके त्यसको माध्यमबाट पनि आर्थिक समृद्धी हासिल गर्न सकिने वताउनुभएको हो । खेलकुदको माध्यमबाट समृद्धी प्राप्त गर्न सकिने र त्यसका लागि पोखरा उपयुक्त गन्तव्य भएको मन्त्री विश्वकर्माको भनाई थियो । खेल क्षेत्रले देशको समृद्धीमा विशिष्ट योगदान दिन सक्ने सम्भावना पोखरामा प्रशस्तै रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले भौगोलिक धरातल र प्राकृतिक बनोटका कारण पोखरामा प्याराग्लाईडिङ्ग, क्यानोनिङ्ग, जिप फ्लायर लगायतका साहसिक खेल खेल्न सकिने वताउनुभयो ।

मन्त्री विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुदको तयारी शुरु भएको र त्यसका केहि खेलहरु पोखरामा हुने जानकारी दिनुभयो । १३ औं साग सफल बनाउने जिम्मा पोखराको काँधमा भएको पनि उहाको भनाई थियो ।

स्वर्गिय पुष्पलालको छोरा तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले खेलकुदमा राजनीति भएसम्म खेलकुदको विकास नहुने ठोकुवा गर्दै खेलकुदको विकासका लागि खेलकुद क्षेत्रमा राजनीति नगर्न आग्रह गर्नुभयो । उहाँले खेलकुदको विकास र व्यवसायीकताका लागि खेलकुद विश्वविद्यालय स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रिय वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीबबहादुर कोइरालाले खेलकुदको विकास र खेलमा व्यवसायीकता प्रदान गर्न प्रतियोगिता आयोजना गरेको वताउनुभयो । शनिबारदेखी शुरु भएको प्रतियोगिता साउन १४ गतेसम्म पोखरा रंगशालास्थित कभर्ड हलमा संचालन हुनेछ ।

प्रतिक्रिया