अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५३ | Colorodo: 13:08

सञ्चार माध्यमको क्षमता अभिबृद्धि आवश्यक –संचारमन्त्री मन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७५ साउन १२ गते ८:५७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकूलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमले स्वयं आफ्नो क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ, कास्की शाखाले शनिवार पोखरामा आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री बाँस्कोटाले साना लगानी नभई स्वरोजगार मिडियाको क्षमता अभिबृद्धिमा जोड दिनुभएको हो । संचार माध्यमलाई सधैं सरकारले संरक्षण गर्न नसक्ने वहाँको तर्क थियो ।

मन्त्री वास्कोटाले उपभोक्तालाई छनौटको सुविधा रहेकाले मिडिया स्वयंले गुणस्तर र क्षमतामा आफूलाई अब्बल देखाउन आवश्यक रहेको बताउनुभयो । वहाँले सरकारी सञ्चार माध्यममा तोकिएको न्यूनतम पारिश्रमिक लागू गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नीजि लगानीका मिडियाले पनि सञ्चारकर्मीलाई न्यूनत्तम पारिश्रमिक अनिवार्य रुपमा दिनुपर्ने उहाको भनाई थियो ।

मन्त्री वास्कोटाले बैङ्क मार्फत् पत्रकार लगायत श्रमजीविहरुको तलवभत्ता भुक्तानी गर्नुपर्ने सरकारको निर्णयबारेको समाचार ठूला मिडिया भन्नेहरुले नदिएको गुनासो समेत गर्नुभयो । साथै गोविन्द केसीको अनसनको सन्दर्भमा बरिष्ठ भन्ने पत्रकारहरुले नै आचारसंहिता विपरीत पक्षधरता देखाएको उहाको आरोप छ । पत्रकारले कसैको पक्षधरता लिने आचारसंहिता विश्वमा प्रचलनमा रहेको आफूलाई थाहा नभएको मन्त्री बाँस्कोटाको भनाई थियो ।

पत्रकारका हकहित सुरक्षाका लागि आफूले काम गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले छिट्टै अनलाईन पत्रकारितालाई समेत समेटी मिडिया काउन्सिलको व्यवस्था गर्ने र समानुपातिक विज्ञापन नीति बनाउन सरकार लागिपरेको जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू