अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:११ | Colorodo: 08:26

सुशासन कायम गर्न सरकार पूर्णरुपमा क्रियाशील– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ साउन १२ गते ८:४० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनको पालना, भ्रष्टाचारको नियन्त्रण र सुशासन कायम गर्न सरकार पूर्णरुपमा क्रियाशील रहेको वताउनुभएको छ । सरकार मुलुकमा व्याप्त भ्रष्टाचारको निर्मूल गरेर जनतालाई सुशासनको अनुभूति दिलाउने दिशामा क्रियाशील रहेको प्रधानमन्त्रीको भनाई छ । जनतालाई सरकार भएको अनुभूति गराउन आफुहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीले वताउनुभयो ।

नेपाल ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय एकता संयोजन समितिले शनिबार राजधानीमा संयुक्तरुपमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलार्ई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले नेकपाको सरकार गठन भएको पाँच महिनामात्रै भएको भएपनि यही अवधिमा नै सबै बिगारेको जसरी प्रचार गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ ।
उहाँले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर अगाडि बढाउने दृढता व्यक्त गर्दै धरहरा, रानीपोखरी, काष्ठमन्डपलगायत सम्पदाको पुनःनिर्माण तत्काल सुरु गरिने वताउनुभयो । दुगर्मस्थानमा रहेका असुरक्षित बस्तीलाई सुरक्षित स्थानमा सार्ने भन्दै प्रधानमन्त्रीले सेवा–सुविधा पु¥याउनै नसकिने ठाउँलाई एकीकृत बस्तीकारुपमा परिणत गर्ने सोचमा सरकार रहेको स्पस्ट पार्नुभयो ।

 

अनुगमन र नियन्त्रण गर्न केही समय लाग्ने भएपनि अनावश्यकरुपमा सरकारको आलोचना गरेर कोकोहोलो मच्चाइएको भन्दै प्रधानमन्त्रीले आपत्ति प्रकट गर्नुभएको छ । प्रधानमन्त्रीले नेपालमा भित्र्याइने रकम बैंकिङ प्रणालीबाटमात्रै आउनुपर्नेमा जोड दिँदै गैरकानुनी तवरले कुनैपनि रकम ल्याउन नदिइने स्पष्ट पार्नुभयो ।

माइतीघरमन्डलालाई विरोध प्रदर्शनस्थल बनाइएकामा समेत प्रधानमन्त्रीले आपत्ति जनाउनुभएको छ । उहाँले कृषिमा व्यावसायीकरण, आधुनिकीकरण, यान्त्रिकीकरण गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने दृढता समेत व्यक्त गर्नुभयो । नेपालमा जुनसुकै क्षेत्रमा पनि एकाधिकार रहेको भन्दै प्रधानमन्त्रीले यातायात क्षेत्रमा रहेको एकाधिकारको अन्त्य भएको र अरु क्षेत्रमा रहेको एकाधिकारसमेत छिट्टै अन्त्य हुने उल्लेख उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीले देशभरबाटै हालसम्म १०५ ओटा तुइन विस्थापित भएर झोलुंगेपुल बनेको जानकारी दिनुभयो । आफ्नो पहिलो कार्यकालमा घोषणा गरेको कार्यक्रम अहिले आएर साकार भएकामा प्रधानमन्त्रीले खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले नेपालको कम्युनिस्ट एकता विश्व समुदायका लागिसमेत चर्चा र चासोको विषय भएको वताउनुभयो । उहाँले विवादलाई सहमतिमा रुपान्तरण गर्ने, जिम्मेवारी लिने र त्याग गर्नसमेत तयार भएर एकतालाई सार्थक बनाउनसमेत कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू