अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०६ | Colorodo: 05:21

कांग्रेसले अब सभामुख वा उपसभामुखको मुध्दालाई उठाउने: प्रवक्ता शर्मा

बिआरटीनेपाल २०७५ साउन ११ गते १०:१० मा प्रकाशित

नेपाली कांग्रेसले डा. गोविन्द केसीसँगको वार्ता भाँड्न खोजेको भन्ने सत्तारुढ दलको आरोपको खण्डन गरेको छ । डा. केसी र सरकारबीच सहमति भएको भोलिपल्ट शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारी पक्षको भनाइको खण्डन गरेको हो ।

पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले केसीसँगको वार्ता भाँड्न खोजेको भन्दै निम्नस्तरको आरोप लगाएको भन्दै आक्रोश पोखे ।

‘सरकार उनीहरुको छ, संसदमा दुई तिहाइ समर्थन छ, प्रदेशमा बहुमत छ, यस्तो सरकारलाई कांग्रेसले के गर्न सक्छ,’ उनले भने, ‘कांग्रेसलाई डा. केसीको अनसनमा सामेल भयो भन्नु दुःखद छ ।’ सरकारले पूरा समय वार्तामा लगाउन छोडेर आलोचनामा खर्च गरेको भन्दै उनले आपत्ति जनाए ।

डा. केसीको विषयलाई आफ्नो मुद्दा सकिएर कांग्रेसले आफ्नो मुद्दा बनाएको आरोप अचम्मको भएको बताए । उनले यो विषयमा कांग्रेसले दबाब दिने भूमिका गरेको बताउँदै आगामी दिनमा पनि दबाब दिने उल्लेख गरे । कांग्रेससँग आफ्नै एजेन्डा रहेको बताउँदै डा. गोविन्द केसीको अनसन एजेन्डा नभएको बरु जायज कुराको समर्थन गरेको शर्माको दाबी थियो ।

कांग्रेसले डा केसीको अनसन अन्तय संगै अब सरकारसँग सभामुख वा उपसभामुखमध्ये एक माग्ने जनाएको छ । संविधानको धारा ९१ को उपधारा २ मा सभामुख र उपसभामुख २ फरक दलको हुनुपर्ने प्रावधान रहेको भन्दै त्यसको कार्यान्वयनका लागि दबाब दिने प्रवक्ता शर्माले बताए । ‘संविधानको एउटा धारा पालना भएन भने भोली अरु धाराको पालना के हुन्छ ?’ पत्रकार सम्मेलनमा शर्माले भने ।

पूर्वनिर्धारित विरोधका कार्यक्रमअन्तर्गत साउन १५ गते ७७ वटै जिल्लामा दबाबमूलक कार्यक्रम गर्ने उनको भनाइ छ । सरकारका सकारात्मक काममा सहयोग गर्ने बताउँदै उनले गलत कामका विरुद्ध दबाब दिइने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू