अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४९ | Colorodo: 15:04

चिकित्सा शिक्षा विधेयक संसद्मा पेस

बिआरटीनेपाल २०७५ साउन ११ गते ८:११ मा प्रकाशित

सरकारले चिकित्सा शिक्षा विधेयक दोस्रोपटक संसदमा पेश गरेको छ । अघिल्लो संसदमा पेश भएको विधेयकमा सहमति जुट्न नसकेपछि निष्क्रिय भएपछि सरकारले फेरि अर्को विधेयक संसदमा पेश गरेको हो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबारको बैठकमा विधेयक पेश गर्नुभएको हो ।

शिक्षा मन्त्रालयले असार २२ मा संसदमा दर्ता गराएको विधेयकमा राखिएको व्यवस्थाको विरोध गर्दै डा. गोबिन्द केसी अनसन बसेपछि संसदमा पेश हुन सकेको थिएन । सरकार र केसीबीच बिहीबार सहमती भएसंगै विधेयक पेश गर्न बाटो खुलेको हो । प्रमुख प्रतिपक्ष कांग्रेसले पनि केसीले उठाएको विषय सुनुवाई नभएसम्म विधेयक पेश गर्न नदिने भन्दै विरोध जनाउदै आएको थियो ।

शुक्रबारको बैठकमा सांसदहरुको सरकार र केसीबीच भएको सम्झौता पत्र सांसदहरुलाई वितरण नगरेसम्म विधेयक पेश गर्न नदिने भन्दै संसद केहीबेर अवरोध पनि भएको थियो । सांसदहरुलाई सम्झौता पत्र वितरण गरेपछि पुनःसदन सुचारु भएको हो ।
सरकारले सदनमा दर्ता गरेको विधेयकको विरोधमा सांसदहरु गगन थापा, सरिता गिरी र प्रेम सुवालले विरोधको सूचना दर्ता गरेका थिए । सरकारले केसीसँग सम्झौता गरेको भन्दै थापा र गिरीले विरोधको सूचना फिर्ता लिनुभयो । सुवालको विरोधको सूचना फिर्ता नलिएपछि निर्णयार्थ पेश गर्दा बहुमतले अस्वीकृत भएको छ । थापा र गिरीले विरोधको सूचना फिर्ता लिएको र सुवालको सूचना अस्वीकृत भएपछि सभामुख कृष्णबहादुर महराले मन्त्री पोखरेललाई विधेयक पेश गर्न अनुमति दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू