अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५७ | Colorodo: 02:12

पाकिस्तानमा मतदान केन्द्रनजिकै आत्मघाती हमला, ३१ जनाको मृत्यु

बिआरटीनेपाल २०७५ साउन ९ गते ९:१७ मा प्रकाशित

पाकिस्तानमा कडा सुरक्षा बीच आम निर्वाचन हुँदै गर्दा बलुचिस्तान प्रान्तको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै आत्मघाती विस्फोट भएको छ । उक्त घटनामा ३१ जनाको मृत्यु भएको छ । शहरको पूर्वी बाइपास क्षेत्र स्थित मतदान केन्द्रमा भएको हमलामा मृत्यु हुनेमा प्रहरी अधिकारी र सर्वसाधारण मतदाताहरु रहेका छन् ।

हमलामा ३० भन्दा धेरै घाइते भएका छन् । घाइतेमध्ये ८ को अवस्था गम्भीर रहेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । क्वेटा शहरको प्रहरीले जारी गरेको विज्ञप्तिअनुसार एक आत्मघाती हमलाकारीले तमिर आइ नाउ विद्यालयमा रहेको मतदान केन्द्रको प्रवेशद्वारमा बम हमला गरेका थिए ।

 

पाकिस्तानी सञ्चार माध्यमका अनुसार हमलाकारीले प्रहरीको भ्यानलाई लक्षित गरी बम पड्काएका थिए । क्वेटाका एक स्थानीय अधिकारी हासिम घिजाइका अनुसार आक्रमणकारी मतदान बुथमा छिर्न खोजिरहेअवस्थामा प्रहरीले रोकेपछि उनीहरुले बम पड्काएको वताईएको छ ।
इस्लामिक स्टेट समूहले आफ्नो आधिकारिक न्यूज एजेन्सी अमाकमार्फत उक्त आत्मघाती आक्रमणको जिम्मेवारी लिएको छ । यस पटकको आम निर्वाचनमा मतदान सुरु भएपछि यो नै सबैभन्दा ठूलो हिंसात्मक घटना हो । पाकिस्तानको अन्य स्थानहरुमा भने मतदान अपेक्षाकृत रुपमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

आम निर्वाचनमा सबैभन्दा संवेदनशील मानिएको बलुचिस्तान प्रान्तमा निर्वाचन अभियानको क्रममा यसअघि भएका विभिन्न आत्मघाती हमलामा १८० जना भन्दा धेरैको मृत्यु भइसकेको छ । पाकिस्तान सरकारले निर्वाचनको सुरक्षाको लागि ३ लाख ७० हजार भन्दा धेरै सेना र ४ लाख ५० हजार भन्दा धेरै प्रहरी खटाएको जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू