अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 14:42

भरतपुरमा तनाव, प्रहरीको गोली लागी रिक्साचालक घाइते

बिआरटीनेपाल २०७५ साउन ९ गते ९:०८ मा प्रकाशित

चितवनको भरतपुर बसपार्कचोकमा बुधबार प्रहरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तनाव उत्पन्न भएको हो । गोली लागेर घाइते हुनेमा नवलपुर, गैंडाकोट–४ का ३० वर्षीय रिक्साचालक महेन्द्र सुनार रहनुभएको छ । भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि तीनपांग्रे सवारी व्यवसायी प्रदर्शनमा उत्रिँदा झडप भएको हो ।

सोहीक्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली, दर्जनौं सेल अश्रुग्यास प्रहार गर्नुका साथै लाठीचार्ज गरेको थियो । प्रदर्शनकारीले हानेको ढुंगा लागेर पाँच प्रहरीजवानसमेत घाइते भएका छन् । घाइते हुने प्रहरी जवानहरुमा हर्कबहादुर दराई, नेत्र बुढाथोकी, केशव पाण्डे, सुरज विक र गोपाल पाठक रहेका छन् । उनीहरुको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यस्तै, अरु केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

 

प्रदर्शनमा उत्रिएका तीनपांग्रे सवारी व्यवसायीले एउटा मोटरसाइकलमा आगजनी गर्नुका साथै एउटा म्याजिक भ्यानसमेत तोडफोड गरेका छन् । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको थियो । प्रदर्शनकारीले प्रहरीचौकीमाथि आक्रमण गर्न खोजेपछि प्रहरीले ‘फायरिङ’ गरेको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले वताउनुभएको छ । तीनपांग्रे सवारी–साधनका विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधबार भरतपुरको केन्द्रीय बस टर्मिनल क्षेत्रमा प्रदर्शन गरेका हुन् । भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि तीनपांग्रे सवारी–साधनलाई मुख्य राजमार्ग र सहरी क्षेत्रमा सन्चालन गर्न रोक लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू