अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

नेजाको छैटौँ अधिवेशन सियाटलमा सुरु

बिआरटीनेपाल २०७५ साउन ५ गते २०:५९ मा प्रकाशित

नेजा ग्रामीण पत्रकारिता पुरस्कार कुम्भ राईलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँ

नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा) को छैटौँ महाधिवेशनको उद्घाटन समारोह अमेरिकाको वासिङ्टन राज्यको सियाटलमा आयोजना भइरहेको छ ।

अमेरिकाको विभिन्न राज्यमा बसेर पत्रकारिता गरिरहेका कम्तीमा एक सय पत्रकार महाधिवेशनमा सहभागी छन् । महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ । त्यसका लागि बन्द सत्र आइतबार हुने तय भएको छ ।

उद्घाटन सत्रमा सियाटल सोसाइटीका अध्यक्ष माधव भण्डारीले स्वागत मन्तव्य दिए । उनले सियाटललाई अधिवेशन स्थलका रूपमा छनौट गरेर यहाँ बसिरहेका नेपाली समुदायसँग नेजा जोडिएकोमा खुसी व्यक्त गरे । नेजाका सल्लाहकार समाजसेवी तारा बरालले पदका लागि राजनीति नगर्न सुझाव दिए । बराल स्थापनाकालदेखि नेजाका सल्लाहकार छन् ।

नेजाले अमेरिकामा बसेर नेपाली पत्रकारिता क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै नेजाका पूर्व अध्यक्ष्य तथा एभरेस्ट टाइम्सका प्रधान सम्पादक आङ छिरिङ शेर्पालाई प्रेसिडेन्ट अवार्डले सम्मानित गरेको छ । शेर्पा दक्षिण एसियामै सबैभन्दा पहिला सगरमाथा आरोहण गर्ने पत्रकार हुन् । त्यस्तै नेजाले सुरेशचन्द्र पोखरेल र लेखनाथ भण्डारीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मानित गरेको छ । पोखरेल र भण्डारीलाई उनीहरूले अमेरिकामा बसेर नेपाली पत्रकारिताका लागि दिएको योगदानका लागि सम्मानित गरेको हो ।

नेजालाई पुर्याएको सहयोगका लागि कार्यक्रममा पशुपति पाण्डे नेपाल, सियाटल सोसाइटी, गैर आवासीय नेपाली सङ्घ आइसिसीकी क्षेत्रीय संयोजक गौरी जोशी, पशुपतिनाथ तथा बुद्ध मन्दिर र पत्रकार सोम घिमिरेलाई टोकन अफ लभ प्रदान गरेको छ । कार्यक्रममा प्रयास स्मारिका विमोचन गरिएको छ । कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य प्रमुख अतिथि छन् ।

नेजा ग्रामीण पत्रकारिता पुरस्कार कुम्भ राईलाई
नेजा ग्रामीण पत्रकारिता पुरस्कार पत्रकार कुम्भ राईलाई प्रदान गरिएको छ । पुरस्कार राशि २ लाख २२ हजार २ सय २२ रुपैयाँ छ । पत्रकार राई कान्तिपुर दैनिकका लागि ओखलढुङ्गाबाट संवाददाताका रूपमा काम गर्छन् । उनले राहतमा भएको दुरुपयोग र नेटवर्क मार्केटिङले ग्रामीण क्षेत्रमा गरेको ठगि लगायतका घटनाबारे समाचार लेखेका थिए ।

पत्रकार छनौट समितिका संयोजक नेजाका पूर्व अध्यक्ष शेर्पा थिए भने सदस्यमा पत्रकार जिय घिमिरे र ज्योति देवकोटा थिए । फोटो: निदेश अधिकारी 

 

प्रतिक्रिया