अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४७ | Colorodo: 17:02

विश्वको पहिलो महिला शंकराचार्यलाई सम्मान

बिआरटीनेपाल २०७५ साउन ३ गते ६:२४ मा प्रकाशित

काठमाडौँ, विश्वको पहिलो महिला शंकराचार्य हेमानन्द गिरी सम्मानित हुनुभएको छ । नेपाल व्यापार सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा हिन्दु धर्मावलम्बीहरूको सर्वोच्च पदमा शंकराचार्य बन्नुभएका उहाँलाई सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले नेपाली महिला हिन्दु धर्मको गुरुका रूपमा शंकराचार्यको भूमिकामा पुग्नुभएको भन्दै यसले नेपाल र नेपालीमा गौरवको अनुभूति भएको बताउनुभयो । “४० देशका महिलालाई पछि पार्दै गिरी शंकराचार्य बन्नुभएको छ, यो नेपाल र नेपालीका लागि खुसीको क्षण हो”, उहाँले भन्नुभयो ।

पूर्वमन्त्री एवं सांसद गगन कुमार थापाले शंकराचार्यको पदवी पाउने विश्वकै पहिलो महिला बन्नुभएकामा गिरीलाई बधाई दिँदै नेपालको हिन्दु जागरण र संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

काँग्रेस नेता गुरुराज घिमिरेले हजारौँ वर्षदेखि चलिआएको शंकराचार्यको उपाधि प्राप्त गरेकामा नेकपाका सांसद मुकुन्द न्यौपानेले विश्वका हिन्दुहरूको प्रतिनिधित्व गर्दै नेपाली महिलाले शंकराचार्यको पद पाएकामा नेपाल र नेपालीको शिर उचाइमा पुगेको बताउनुभयो ।

राप्रपाका महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले शंकराचार्यको हजारौँ वर्षको इतिहासमा नेपाली महिलाले विश्वका महिलालाई उछिन्दै उक्त पदवी पाएकामा यसले हिन्दु धर्मको विकासमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

विश्व हिन्दु परिषद्का अध्यक्ष अजय सिंहले मानव सभ्यता र सनातन हिन्दु धर्मको इतिहासमा शंकराचार्यको उत्तराधिकारी बनेकामा खुसी व्यक्त गर्नुभयो । “विश्वको हिन्दु धर्मको विकास र विस्तारमा महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ,” उहाँले भन्नुभयो ।

शंकराचार्य गिरीले विश्वका हिन्दु धर्मावलम्बीको माया, प्रेम, सद्भावका कारण आफू शंकराचार्य बनेको बताउँदै विश्वमै हिन्दु धर्मको रक्षाका लागि लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपालको सनातन धर्मलाई कमजोर बनाउने प्रयास भइरहेको छ, त्यसलाई जोगाउनका लागि म लाग्नेछु”, उहाँले भन्नुभयो ।

नेपाल हिन्दु महासङ्घका अध्यक्ष डा रामचन्द्र अधिकारी, व्यापार सङ्घका अध्यक्ष कुमार कार्की, व्यापार सङ्घका उपाध्यक्ष हरि गौतमलगायतले हिन्दु धर्म र संस्कृतिको विकासका लागि सबै लाग्नुपर्ने बताउनुभयो । शंकराचार्य हुनुअघि गिरीले महामण्डलेश्वर र आचार्य महामण्डलेश्वरको भूमिका निर्वाह गर्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू