अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५७ | Colorodo: 01:12

धरान उपमहानगरपालिकाका प्रमुख सुब्बाको निधन

बिआरटीनेपाल २०७५ साउन १ गते २१:२३ मा प्रकाशित

इटहरी,  धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको आज काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको छ । निमोनिया रोगबाट पीडित ५२ वर्षीय सुब्बाको उपचारका क्रममा निधन भएको धरान उपमहानगरपालिकाले जनाएको छ । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गराउनुभएका सुब्बा लामो समयदेखि मधुमेह रोगबाट समेत पीडित हुनुहुन्थ्यो ।

नगर प्रमुखमा निर्वाचित भएपछि कामको चापले बढी नै व्यस्त रहनु परेकाले उहाँमा पछिल्लो समय निमोनियाको संक्रमण देखा परेको बताइएको छ ।

विद्यार्थी जीवनदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय सुब्बा तत्कालीन नेकपा (एमाले) को धरान नगर कमिटी अध्यक्षसमेत हुनुहुन्थ्यो । प्रमुख सुब्बाको शव आजै साँझ हेलिकोप्टरमार्फत धरान ल्याउने तयारी भइरहेको बताइएको छ ।

प्रमुख सुब्बाको बुधवार अन्तिम दाहसंस्कार गरिने बताइएको छ । उहाँका एक श्रीमती र एक छोरा हुनुहुन्छ । मृदुभाषी र मिलनसार प्रमुख सुब्बाको निधनको खबर सार्वजनिक भएसँगै धरान बासी गहिरो शोकमा डुबेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू