अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

उपत्यकाका फिल्म हलमा ‘बक्स अफिस’ लागू

यलु जोशी, काठमाडौँ २०७५ साउन १ गते २१:१४ मा प्रकाशित

नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि चर्चामा रहँदै आएको बक्स अफिस मङ्गबार (साउन १ गते )बाट काठमाडौँ उपत्यकामा लागू भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चलचित्र विकास बोर्डमा आयोजित कार्यक्रम बक्स अफिसको औपचारिक उद्घाटन गर्नुभयो । बक्स अफिस लागू भएपछि ‘अनलाइन डाटा’मार्फत चलचित्रको आयको सम्पूर्ण जानकारी प्राप्त हुनेछ । यसले राजस्व सङ्कलनमा राज्यलाई पनि ठुलो मद्दत पुग्ने मन्त्री बास्कोटाले बताउनुभयो । 

उहाँले अर्को असार मसान्तभित्र उपत्यका बाहिर पनि बक्स अफिस लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्री बास्कोटाले भन्नुभयो, “अब निर्माताले घरघडेरी डुबाउनु पर्ने दिन आउने छैन । कलाकारले आफ्नो मिहिनेतको पारिश्रमिक पाउनेछन् । राज्यलाई कर छल्ने प्रवृत्तिको अन्त्य हुनेछ । अब चलचित्र क्षेत्रकै अनुहार फेरिनेछ ।”

उहाँले अब हलहरूको वर्गीकरण हुने बताउँदै विदेशी विज्ञापन बन्द गर्ने घोषणा पनि गर्नुभयो । बक्स अफिस कार्यान्वयन समितिका संयोजक नरेन्द्र महर्जनसहितको बैठकले २०७५ वैशाख १ बाट परीक्षण गर्ने र साउन १ गतेदेखि उपत्यका भित्र लागु गर्ने निर्णय गरेको थियो ।

उपत्यकाबाहिर पनि माघ १ गतेसम्म बक्स अफिस कार्यान्वयन हुने समितिका सदस्य तथा नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिनुभयो । बक्स अफिस जडानका लागि ब्रेन डिजिट इन सोलुसन कम्पनीलाई अधिकार दिइएको समेत अधिकारीले जानकारी दिनुभयो । “मैले २०६५ सालदेखि लगातार उठाउँदै आएको विषय बल्ल सुनुवाइ भएको छ, नयाँ प्रविधि र विकासलाई कसैले पनि छेक्न सक्तैन भन्ने प्रमाणित भएको छ, अध्यक्ष अधिकारीले बताउनुभयो । नेपाल चलचित्र सङ्घका अध्यक्ष तथा बक्स अफिस कार्यान्वयन समितिका सदस्य प्रदीपकुमार उदयले अनलाइन मार्फत सम्बन्धित वितरकले फिल्मको व्यापारबारे जानकारी पाउने बताउनुभयो । उहाँका अनुसार बोर्डले फिल्म वितरक र निर्मातालाई सर्भरको कोड दिनेछ ।

उक्त कोडबाट वितरकले फिल्मको व्यापार थाहा पाउनेछन् । उक्त कोड कर कार्यालयलाई समेत दिइनेछ । फरक फिल्मलाई फरक कोड दिइने र त्यस्तो कोडका बारेमा सम्बन्धित प्राविधिकलाई मात्र जानकारी हुने उहाँले बताउनुभयो ।

संयोजक महर्जनले उपत्यकाका सम्पूर्ण हलमा बक्स अफिस लागू भएको जानकारी दिनुभयो । सुविधासम्पन्न मल्टिप्लेक्सले आफ्नै किसिमले बक्स अफिस सञ्चालन गरिरहे पनि सिंगल थिएटरमा भने यो प्रयोगमा थिएन ।

सरकारले बजेटमार्फत साउन १ गतेदेखि राजस्व सङ्कलनका लागि बक्स अफिस प्रणाली (ई–टिकेटिङ सिस्टम) लागू गर्ने घोषणा गरेको थियो । बक्सअफिस लागू नहुँदा वर्षौँदेखि निर्माताहरूले आफ्नो फिल्मको कति आम्दानी भयो भन्ने सही विवरण हात पार्न सकेका थिएनन् । 

चलचित्र वितरक सुनिल महर्जनले हल रिपोर्टका लागि हल सञ्चालकलाई फोन गर्नुपर्ने झन्झटबाट मुक्ति मिलेको बताउनुभयो । अब कम्युटर र मोबाइलबाट नै हल रिपोर्ट हेर्न पाइने भएको छ, यसले मलाई उत्साहित बनाएको छ, उहाँले भन्नुभयो ।

के हो बक्स अफिस ?
बक्स अफिस एक प्रकारको केन्द्रीकृत ई–टिकेटिङ सिस्टम हो । यो प्रणालीमा कुन हलमा कति टिकट बिक्री भयो भन्ने आधिकारिक तथ्याङ्क लिन सकिन्छ । टिकट बिक्रीका विषयमा अनलाइनमा नै रिपोर्ट देखाउने हुँदा हल सञ्चालकले लगानीकर्तालाई झुक्याउन नसक्ने बताउँदै आइएको छ ।

सम्पूर्ण हलहरूबाट सफ्टवेयर मार्फत सर्भरमा लिङ्क गराउँदै यसले तथ्याङ्क सङ्कलन गर्छ । सर्भरमा जम्मा भएको तथ्याङ्क फिल्मका निर्माता या वितरकलाई दिइन्छ । यसको सर्भर चलचित्र विकास बोर्डमा राखिएको छ । संयोजक महर्जनले बक्स अफिसको सम्पूर्ण डाटा एकै ठाउँमा सङ्कलन हुने जानकारी दिनुभयो । गोरखापत्रबाट 

प्रतिक्रिया