अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

साउन लागेसँगै मेहेन्दी र हरियो चुराको व्यापार फस्टायो

राजधानीका चुरा पसलहरू हरिया चुरा र पोतेले भरी भराऊ

मानमती पाण्डेय, काठमाडौँ २०७५ साउन १ गते १२:३५ मा प्रकाशित

हिन्दु नारीहरूका लागि विशेष मानिने साउन महिना बजारमा मेहेन्दी, हरिया चुरा र पोतेको व्यापार निकै फस्टाएको छ । विउटिपार्लर देखी सडकका पेटीमा आज हरिया चुरा लगाइ मेहेन्दीका बुट्टाले हात सजाउने हरूको निकै घुइँचो देखिन्छ । अन्य समयमा खासै मेहेन्दीको व्यापार नभए पनि असारको अन्तिम देखी मेहेन्दी र चुराको व्यापार निकै फस्टाएको कमलेस ठाकुरले बताए । उनी ७ वर्ष देखी काठमाण्डौको असन क्षेत्रमा मेहेन्दीका डिजाइन कोर्ने काम गरिरहेका छन् । उनले आज बिहानै देखी ३० जनाको हातमा मेहेन्दीका बुट्टा भरेको बताए । कमलेश हातमा मेहेन्दीका बुट्टा भरेको १ सय ५० रुपैयाँ लिने गरेका छन् । उनी भन्छन् ‘ब्‍यूटी पार्लरमा मेहेन्दीलगाएको ३ सय रुपैयाँबाट सुरु हुन्छ तर हामी फुटपाथमा सस्तोमा लगाउँछौँ । त्यसैले पार्लर भन्दा फुटपाथमा मेहेन्दी लाउन आउनेको भिड बढी छ ।’

साउन महिना सुरु हुनु अगाडी नै राजधानीका चुरा पसलहरू हरिया चुरा र पोतेले भरी भराऊ छन् । डिल्लीबजारकी प्रमीला केसीलाई अहिले बिहान देखि बेलुकी सम्मै फुर्सद छैन । उनी भन्छिन्–‘साउन महिना त चुरा व्यापारीलाई तिहार जत्तिकै हुन्छ, महिलाहरूको भिड नै लाग्छ । आज बिहानै देखी उनी चुरा र मेहेन्दी लाउनमा व्यस्त छिन् । उनको पसलमा १० रुपैयाँ देखी ५ हजार सम्मका चुरा छन् । उनले भनिन ‘मेटलका चुराहरू दर्जनको हिसाबले भन्दा पनि सेटमा आउँछन् । यस्ता सेट चुराहरू ८० रुपैयाँदेखि सुरु हुन्छ । ’ सामान्य रूपमा बजारमा काँचका ४० रुपैयाँ प्रतिदर्जन र मेटलका चुरा १ सयदेखि ५ सय सम्मका चुराहरू बढी बिक्री भएको उनले बताइन ।

हरिया चुरा र मेहेन्दी किन लगाउने र लगाउँदा के हुन्छ भन्ने कुरा थाहा नभएपनि साउन महिना भरि साथीहरूले लगाएको देख्दा रहर लागेको बनस्थलीकी सरस्वती कट्टेल बताउछिन । हरियो वस्त्र, हरियो चुरा, हरियो पोते हत्केलामा मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरूलाई देख्दा हिन्दु संस्कार, संस्कृति र विश्वास अझ गाढा बन्दै गएका अनुमान गर्न सकिन्छ ।

पछिल्लो समयमा हरियो चुरा, मेहन्दी फेसन बनेको छ जसले बालिका, युवती, वयस्क सबै उमेर समूहका महिलामा हाबी छ । विवाहित हुन या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरूको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतीकको रूपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आकर्षण र रमाइलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउने गर्दछन् । पछिल्लो समय धेरै सेलिब्रेटीहरुले पनि साउनलाई फेसनको रूपमा लिएका छन् भने मेहेन्दी, चुरा र हरिया पहिरन लगाएर साउनलाई फेसन मय बनाएका छन् । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन न लगाइ हिँड्ने महिलाहरू विरलै देख्न पाइन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू