अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२९ | Colorodo: 23:44

नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने

बिआरटीनेपाल २०७५ साउन १ गते ८:३८ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध देशभर सडक संघर्ष गर्ने भएको छ । संघीय तथा प्रदेश सरकारहरूले संविधानको भावना र मर्मअनुसार अगाडि बढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउन लागि परेको आरोप लगाउँदै कांग्रेसले सडक संघर्षको घोषणा गरेको हो । 

सरकारको क्रियाकलाप विरुद्ध साउन १५ गते जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्न जिल्ला समितिहरूलाई कांग्रेसले निर्देशन दिएको हो । सभामुख र उपसभामुख अलग अलग पार्टीबाट हुनुपर्ने संवैधानिक व्यवस्था विपरीत सरकारले एकै दलबाट प्रतिनिधित्व गराई संविधानको ठाडो उल्लंघन गरेको महामन्त्री शशांक कोइरालाले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

’संघीय व्यवस्थाको भावनाविपरीत अधिकारको केन्द्रीकरण गर्ने, शक्ति पृथकीकरणको सिद्धान्तलाई खिल्ली उडाउँदै स्वतन्त्र न्यायालयप्रति आक्रामक रूपमा प्रस्तुत हुने, संवैधानिक निकायलाई कार्यकारीको छाँयामा राख्ने, सरकार र पार्टी एकैजस्तो गरेर सञ्चालन गर्ने, कर्मचारीतन्त्र तथा सुरक्षा निकायहरूलाई व्यवसायिक रूपमा सञ्चालन गर्नुको सट्टा पार्टीप्रतिको प्रतिबद्धताका आधारमा चलाउने प्रवृत्ति स्पष्ट रूपमा प्रकट भएका छन’ विज्ञप्तिमा भनिएको छ ।

देउवा सरकारले विधिसम्मत गरेका नियुक्तिहरू वर्तमान सरकारले गैरकानूनी तवरले खारेज गरेको कांग्रेसको आरोप छ । ’तत्कालीन सरकारले सत्तरी वर्षबाट घटाई ६५ वर्षमा वृद्धभत्ता दिने निर्णय, मृगौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटु रोगका गम्भीर बिरामीलाई मासिक ५ हजार जिविकोपार्जन भत्ता दिने व्यवस्था तथा भूकम्प पीडितहरूलाई थप एक लाख राहत दिने निर्णयलाई खारेज गर्ने वर्तमान सरकारको जनविरोधी निर्णयको विरोध हुन जरुरी छ’ विज्ञप्तिमा भनिएको छ । सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको कांग्रेसको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू