अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

आज साउने संक्रान्ति लुतो फाल्ने दिन

बिआरटीनेपाल २०७५ साउन १ गते ८:२८ मा प्रकाशित

आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन । संक्रान्ति पर्व आज मुलुकभर परम्परागतरुपमा मनाईदैछ । सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कट रेखामाथि जाने भएकाले आजकोे दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ । कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी आजको दिन भोज खाने गर्छन् ।

आज साँझ लुतो, दाद आदि चर्मादी रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन छ । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादी रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । प्राचीन प्रचलन अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ ।

पछिल्लो समयमा लुतो फ्याँक्ने प्रचलन हराउँदै गए पनि केही धार्मिकस्थलमा सामाजिक रुपमै लुतो फ्याक्ने संस्कृृति मनाउने गरिएको छ । कास्की जिल्लाको भरतपोखरीस्थित प्रसिद्ध कोटभैरव मन्दिरजस्ता केही धार्मिक तीर्थस्थलमा सामाजिक रुपमा लुतो फाल्ने प्रचलन हालसम्म कायमै छ ।

महिलाहरु साउने संक्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन रहेको जानकारहरुको भनाई छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू