अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४४ | Colorodo: 09:59

आत्मनिर्भरताको आशा

अनिल पाण्डे २०७५ असार ३२ गते १६:५५ मा प्रकाशित

बहुचर्चित हिन्दी फिल्म ‘बागबान’ मा नायक अमिता बच्चनको एक संवाद छ, ‘छोराछोरीसँग आस गर्नु नै गलत भयो, आशा पूरा नभएपछि दुःख लाग्नु स्वाभाविकै हो’ । गाँस काटेर र आफ्ना सबै इच्छा र चाहनालाई बन्धक बनाएर छोराछोरीको सफलतामा समर्पित रहने बाबुआमा बुढेसकालमा कसरी पीडित बन्नसक्छन् भन्ने कथा यस चलचित्रमा यति मार्मिक तरिकाले समेटिएको छ कि जतिपटक हेरेपनि दर्शकका आँखा रसाउँछन् ।

हाम्रो नेपाली समाजमा साना छोरा–छोरीलाई बाबुआमा सोध्नेगर्छन्, ‘म बुढो भएपछि मलाई कसले पाल्छ’, उनीहरूको अपेक्षा हुन्छ, छोराछोरीले ‘म पाल्छु’ भनिदेओस् । कतिले भनी पनि दिन्छन् । बाबुआमा दङ्ग पर्छन् । बाबुआमाप्रति छोराछोरीको र छोराछोरीप्रति बाबुआमाको यति बढी आशा–अपेक्षा रहेको हुन्छ कि पूरा नहुनासाथ मुटु निचोरिन थाल्छ, आँखा बर्सिन्छन् र गलाबाट हिक्क–हिक्कको आवाज आउँछ । असीम पीडा हुन्छ अपेक्षकलाई ।

खास गरी नेपाली समाजको संस्कारगत त्रुटि के भने, हामी बालबालिकालाई सङ्घर्ष गर्न र आत्मनिर्भर बन्न सिकाउँदैनौँ । ‘छोरा १६ वर्षको भयो, एसईई दिएर बसेको छ, भातभान्साको काम सिक्छ, कुनै साँझ–बिहान किचेनको जिम्मा देऊ न’ केही श्रीमान्ले श्रीमतीलाई भनेको लेखकले सुन्नेगरेको छ । यस खालको प्रस्ताव लेखकलाई स्वागतयोग्य पनि लाग्छ । काम सिक्ने–सिकाउने बेला नै यही ‘टीनएज’ त हो । तर, आमाहरू नै ‘हुन्न–हुन्न, त्यो बालकै छ, हात पोल्छ’ भनेर माया गर्छन् । यद्यपि यही माया पछि बालबालिकालाई आत्मनिर्भर हुन नदिने कारण बन्नपुग्छ । हुन त नेपाली शहरिया समाजमा महिलाको ‘टेरिटोरी’ भन्नु नै भातभान्सा हो, अरू सबै क्षेत्र पुरुषले ओगटेर बसेका छन् । कतै छिरिक्क गर्न दिँदैन । सीमित महिलालाई राजनीतिक, आर्थिक, सामाजिक आदि क्षेत्रमा पहुँच भए पनि महिलाको नियन्त्रण छैन । ‘किचेन’ मात्र यस्तो क्षेत्र हो, त्यहाँ महिलाको पहुँच र नियन्त्रण छ– आज नुन अलि थप्छु, थप । हैन, आज तीते करेला झुरुम्झुरुम् हुनेगरी तार्छु, तार । घिउ हालेर भात पकाउँछु, पकाऊ । डल्ले खुर्सानी सिङ्गै हालिदिन्छु, हालिदेऊ । त्यसैले पनि आफ्नो क्षेत्राधिकार र स्वतन्त्रताको उपयोग गर्ने क्षेत्र महिलाहरू त्याग्न चाहँदैनन् । छोरालाई भान्सामा छिराएर के गर्नु, पछि उही पुरुषत्व देखाउन थाल्छ, योभन्दा त मै मीठो पकाउँछु भनेर आमाको विरुद्ध बोल्न बेर मान्दैन । यो पक्ष पनि विचारणीय छ । तर, महिलालाई पुरुषसरह विभिन्न क्षेत्रमा पहुँच र नियन्त्रणको अवस्था सिर्जना गर्ने, तर छोराछोरीलाई बाल र किशोर अवस्थादेखि नै काम सिकाउने अभ्यास भने अनिवार्य छ ।

हालै सम्पन्न फुटबलको विश्वकप होस् वा अन्य खेल, त्यही खेलाडी सफल भए जसले बाल्यकाल र किशोरावस्थादेखि नै खेल्ने अभ्यास गरेका थिए । नेपालका संदीप लामिछाने हुन् वा दक्षिण कोरियाका ली सङ्ग–ऊ वा उरुग्बेका रेड्रिगो, इङ्गल्याण्डका ट्रेन्ट एलेक्जेण्डर आरनोल्ड वा यस्ता अनेक २० वर्षभन्दा मुनिका खेलाडीको सफलतालाई हेर्दा उनीहरूलाई आत्मनिर्भर र सफल बनाउने हो भने अभिभावकले समयमै अवसर जुटाइदिनुपर्ने रहेछ भन्ने प्रमाणित हुन्छ ।

नेपाली समाजमा खास गरी छोरीहरूलाई त बाबुआमाले आत्मनिर्भरता होइन परनिर्भरताको पाठ सिकाएर हैरान नै बनाउँछन् । ‘आमा, म स्कुटी सिक्छु नि’ छोरीले माग गर्छे ।

‘पर्दैन, पछि ज्याईंले हाँक्छ, पछाडि बसे भैगो नि’ आमाको चेतावनी हुन्छ, ‘मेरी छोरी यति राम्री छे, कारवाला नै ज्वाइँ पाउँछे, बरु घाममा मुख डढ्ला, नराम्री होलिस् । केटीले त रुपैले लोग्ने नियन्त्रणमा पार्ने हो बाबै !’ छोरीलाई अपाङ्ग बनाउन आमाबाबुहरू भन्छन्, ‘बढी नपढ्, केटा पाउन गाह्रो हुन्छ, घर छोडेर बाहिर नजा, केटाले शङ्का गर्छ, साँझ–बिहान अबेरसम्म जागिर नखा, राम्रो घरको केटा पाइन्न । पेटभर नखा, मोटी भनेर धनी केटाले ‘रिजेक्ट’ गर्ला । यसरी केटीलाई परनिर्भर बनाइन्छ कि भनेर साध्य छैन । छोराछोरीलाई परनिर्भर बनाउने, ज्येष्ठहरुलाई सम्मान गर्न नसिकाउने, मेहनती र अग्रसर भएर केही काम गर्न थाल्योभने खुट्टा तान्ने अनि मौकामा बाबुआमालाई हेरेन भनेर चित्त पनि दुखाउने ! पहिलो त, छोराछोरीले हेरे राम्रो, नहेरे पनि नराम्रो मान्दिनँ भनेर अभिभावक दीक्षित हुनुप¥यो, दोस्रो बोलेर होइन कामले नै बालबालिकालाई आत्मनिर्भर बन्ने दृष्टान्त दिनुप¥यो । हामीकहाँ चुरोट खाने धेरै बाबुआमा छन् जो छोराछोरीलाई ‘धूम्रपान स्वास्थ्यका लागि हानिकारक’ रहेको पाठ घोकाउँछन् ।

विश्वमा धेरै सफल व्यक्तित्वको बाल्यकाल हेर्दा प्रमाणित हुन्छ, सानो उमेरमै जसले आत्मनिर्भर बन्ने पाठ सिक्यो त्यसैले सफलता हासिल ग¥यो । उदाहरणका लागि अमेरिकी नायक मार्टिन लुथर किङ्ग जुनियरलाई लिनसकिन्छ । मार्क ओलीभरका अनुसार किङ्ग सानैदेखि आत्मनिर्भर मानसिकताका व्यक्ति थिए । अश्वेत र श्वेतबिचको सामाजिक विभेद हटाउन उनले अहिंसात्मक आन्दोलन अघिबढाए, सत्याग्रहको विधि अपनाएर पैरवी गरे, विभेदकारी गोराहरूलाई घुँडा टेकाए । यी सबै गतिविधिका लागि उनलाई कसैले सिकाएको होइन, उनले आफै अग्रसर भएर निर्णय लिएका हुन् । यस प्रकारको निर्णय लिने क्षमता उनमा बाल्यकालदेखि नै विकसित भएको हो । कसैले राम्रो दुनियाँ बनाइदेला अनि म ‘टेकेन फर ग्राण्टेड’ को मजालिंदै त्यसको उपयोग गरौँला भनेर उनी बसेनन् । रङ्गका आधारमा मानव–मानवबिचको घृणा, असमानता र दमनपूर्ण व्यवहारलाई अन्त्य गर्न उनी आफै अघिसरे । एटलाण्टामा हुर्केका जुनियर किङ्का प्रेरणाका स्रोत उनकै बाबु सिनियर किङ्ग थिए, जसले शोषक गोरे सामन्तको खेत नजोत्ने तर पुजारी बनेर निर्वाह गर्ने कसम खाएका थिए ।

सानोमा गोरे केटाहरूलाई असल साथी बनाएर पनि उनीहरूसँग बसेर पढ्न नपाएको आक्रोश उनमा थियो । उनलाई छिमेकी गोरेसँग खेल्न पनि दिइँदैनथ्यो । उनले पछि भनेका छन्, यही घटनाले पहिलो पटक उनको बालमस्तिष्कमा समाजमा रहेको जातिगत विभेदको परिचय दिएको थियो । अहिंसात्मक विरोधको स्वभाव उनमा बाल्यकालदेखि नै रहेछ । एक दिन सानैमा दाजुभाइले हल्ला गरे भनेर बाबु सिनियर किङ्गले उनीहरूलाई जङ्गली तरिकाले पिटे, भित्तामा टाउको पनि ठोक्काइदिए । पेटीले हातै सुन्निने गरी पिटाइ खाएका जुनियर किङ्गले बाबुलाई जति पिट्छौ पिट भनेर हात थापिदिए, आँखाभरि आँसु पारेर उभिइरहे तर चुँसम्मको आवाज निकालेनन् ।

हाम्रा बालबालिकामा पनि किङ्ग हुने क्षमता अन्तरनिहित हुनसक्छ । विश्वका हरेकजसो चर्चित व्यक्तिलाई सानामा उनीहरूको चाहना र रुचिअनुसार व्यवहार गर्न नदिएको भए उनीहरूको पहिचान आज जे छ, त्यो हुनेथिएन । त्यसैले, बालबालिकालाई आजैबाट आत्मनिर्भर बन्न र उनीहरूको रुचिअनुसारका भद्र काम गर्न अभिप्रेरित गर्नु आवश्यक छ । यस प्रकारको अभिप्रेरित बोलेरभन्दा व्यवहार गरेर देखाउन सकियो भने उनीहरूको मस्तिष्कले छिटै समात्छ । उनीहरूका अगाडि इमान्दार भएर प्रस्तुत हुनसक्यो भने वयस्कका कमजोरी पनि उनीहरू माफ गरिदिन्छन् । तर, बालबालिकालाई ‘हिप्पोक्रेसी’ कत्ति मनपर्दैन ।

प्रतिक्रिया