अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२६ | Colorodo: 23:41

लस एन्जेलसमा भानु जयन्ती भव्यताका साथ मनाइयो

प्रकाश चन्द्र घिमिरे, लस एन्जलस २०७५ असार ३१ गते १६:५७ मा प्रकाशित

हिजो जुलाई १४, २०१८ का दिन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लस एन्जलस च्याप्टरले २०५ औँ भानु जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ । अनेसास एल ए च्याप्टरका अध्यक्ष डन ब कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा उपस्थित महानुभावहरूलाई संस्थाका बरिष्ट उपाध्यक्ष तिलक कार्कीले स्वागत गर्नु भएको थियो भने अनेसासका केन्द्रीय कोषाध्यक्ष शान्तिराम ढकालले भानुभक्त आचार्यको संक्षिप्त परिचय र नेपाली भाषामा उनको योगदानको चर्चा गर्नु भएको थियो । 

समाजका प्रभुत्व व्यक्तित्वहरू प्राध्यापक डा दीपक सिंखडा, नेपाल सरकारका अबैतानिक महाबाणिज्य दुत ‌ऋषी ढकाल, पशुपतिनाथ बुद्ध मन्दिरका अध्यक्ष भक्त थापा, NRN ICC सदस्य तथा बौधिक संस्थाका संयोजक बलराम थापा लगायत विभिन्न महानुभाबहरुले भानुभक्तको तस्बिरमा फुलमाला चढाएर थालनी गरिएको उक्त कार्यक्रममा अनेसासका आजीवन सदस्य, श्री पशुपतिनाथ बुद्ध मन्दिरका गुरु प्राध्यापक आचार्य चुडामणि पाठकद्वारा लिखित कृति  “अध्यात्म विज्ञान” को विमोचन गरियो साथै उक्त पुस्तकका बारेमा लेखक आफैले प्रकाश पार्दै भाषा र संस्कृतिको जगेर्ना गर्न वेदका मन्त्रहरूको जानकारी हुनु जरुरत हुन्छ, त्यसका लागि संस्कृत भाषामा भएका मन्त्रहरूलाई नेपाली भाषामा उल्था गरेकोले पुस्तक समाजलाई लाभ पुर्‍याउने छ भन्ने विश्वास व्यक्त गर्नु भयो । त्यस्तै बुद्ध समाजका अध्यक्ष तथा अनेसास एल ए च्याप्टरका सचिव राम लामा तथा नेपाल सरकारका पर्यटन दूत रामेश्वर भण्डारीले सो पुस्तकका विषयमा बोल्नु भएको थियो । 

वाणिज्य दुत ऋषि ढकालले यस्ता कार्यक्रमले नेपाली समाजमा भाषाको संरक्षण तथा साहित्यमा रुचि बढाउनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो। मन्दिरका अध्यक्ष भक्त थापाले कार्यक्रमको प्रशंसा गर्दै फाउनडेसनलाई दरिलो र प्रभावकारी बनाउन सबै सङ्घ संस्थाहरू सहयोग अपरिहार्य भएकोले हातमा हातमिलाएर अघिबढ्न अनुरोध गर्नु भयो । 

सो अवसरमा प्रकाश पाण्डे, सुशीला पाण्डे, राम लामा अभिनाशी, संस्थापक अध्यक्ष गोकुल पौडेल, इन्दिरा त्रिपाठी र किरण थुलुङले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो।

स्थानीय सघसंस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रममा मुकुन्द ढुङ्गाना, चन्द्र सिवाकोटी, दुर्गा श्रेष्ठ,सूर्य प्रसाइ, नवीन पोखरेल, उमा थापा लगायत स्थानीय पत्रकारहरू सुदिप पन्त तथा पुरुषोत्तम ढकालको उपस्थिति रह्यो भने स्थानीय जनसमुदाय को सहभागिताले कार्यक्रमको रौनक बढाएको थियो । समाजका मुर्धनिय व्यक्ति एकराज पाण्डे, नेत्र मैनाली, एकदेव पाण्डे, रामजी गौतमले कार्यक्रमको प्रशंसा गर्नु भयो । 

कार्यक्रमको महत्त्व र पुस्तकको विषयमा प्रमुख अथिती डा दीपक सिंखडाले आफ्ना विचार व्यक्त गर्नु भएको थियो । रामायणका श्लोक उच्चारण गरी भानुभक्त जयन्ती मनाइएको उक्त कार्यक्रमलाई अनेसास लस एन्जलस च्याप्टरका महासचिव प्रकाशचन्द्र घिमिरेले सञ्चालन गरेका थिए ।  उक्त समारोहका सभापति डन बहादुर कार्कीले आफ्नो कार्यब्यस्तताका बाबजुद यस कार्यक्रममा उपस्थित भई दिनु भएकोमा सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भयो थियो ।

प्रतिक्रिया