अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४७ | Colorodo: 05:02

भावी सन्तती मुस्कुराएको देख्न पाउँ– प्रधानमन्त्री ओली ( भिडियो )

बिआरटीनेपाल २०७५ असार ३१ गते ८:०६ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीले आइतबार हिमवत् खण्ड साहित्य कला सम्मिलनको चन्द्रागिरि सिर्जना यात्रामा स्थलगत कविता रच्दै मरेपछि पनि देश र जनता हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५ औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने सम्मिलनको अन्तिम दिन दिनभरजसो चन्दागिरिमा रहनुभएका प्रधानमन्त्री ओलीले संसारमा सबै मरेर जानुपर्ने उल्लेख गर्दै बाँचुञ्जेल आफ्ना सन्तति हाँसेको देख्न पाउने आकांक्षा व्यक्त गर्नुभएको हो ।

आफू साहित्य र कला सिर्जना गर्न चाहेर पनि समयले नभ्याउने भन्दै उहाँले आइतबार सहभागीको आग्रहमा सात मिनेट लगाएर एक दस लाइनको कविता रचना गर्नुभएको थियो । यधपि, प्रधानमन्त्री ओलीले आफू कवि नभएको जिकिर गर्नुभयो ।


प्रधानमन्त्री ओलीको पञ्चायतकालमा लेखिएको “खर्पन” कविता केही वर्षअघि सार्वजनिक भएको थियो । उहाँले जेल जीवनमा धेरै कविता र गीत लेखेको भए पनि तिनको संरक्षण गर्न नसकिएको बताउँदै आउनुभएको छ ।

भिडियो

यसैवीच, हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो ।

त्यस प्रकारको सांस्कृतिक संग्रहालय बनाउन नेपाल सरकारले सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न सम्मेलनले ध्यानाकर्षण गराएको छ । ‘हिमवत् खण्ड कला साहित्य र संस्कृति, विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित आयोजित सम्मिलनमा विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका १००० भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ ।

सम्मेलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै हिमवत् खण्डमा बोलचालमा रहेका १२३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक ठानेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू