अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१० | Colorodo: 14:25

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी

बिआरटीनेपाल २०७५ असार ३० गते ७:२४ मा प्रकाशित

बुटवल,  कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताउनुभएको छ । आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पुर्जा वितरण समारोहमा उहाँले भन्नुभयो, “कृषि भूमिको संरक्षण हुनेगरी कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी सरकारको छ ।”

मन्त्री खनालले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउने बताउँदै “यस सम्बन्धमा प्रधानमन्त्रीसँग पनि छलफल गरेको छु, एक महिनाभित्र यो विषयलाई हामीले टुंग्याउने छौँ भन्नुभयो । ” गत साउन २६ मा तत्कालीन भूमिसुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम छ ।

मन्त्री खनालले नीतिमा कित्ताकाट रोकिए पनि व्यवहारमा रोकिएको छैन, बरु यसले अनेक विकृति बढाएको छ, त्यसैले सरकारले नयाँ व्यवस्था गर्न थालेको बताउनुभयो । स्थानीय तहले भूउपयोग योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले रुपन्देहीमा खेतीयोग्य जमिनको संरक्षण गरिनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य दधिराम न्यौपानेले जग्गाको कित्ताकाट रोकिँदा मालपोत र नापी कार्यालयमा धेरै विकृति देखिएको उल्लेख गर्दै समस्या समाधानका लागि सङ्घीय सरकार गम्भीर हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले कित्ताकाटमा लगाइएको रोकले ल्याएको समस्याप्रति जानकार रहेको उल्लेख गर्दै आफूहरू नीति बाहिर जान नसक्ने बताउनुभयो ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू