अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४५ | Colorodo: 15:00

गणतन्त्रको घाम – लीलाराज दाहाल

लीलाराज दाहाल २०७५ असार ३० गते ६:३५ मा प्रकाशित

कथा

विश्व नयाँ सहश्राब्दीमा प्रवेश गरिसकेको छ ।

म पनि छिप्पिएको जाँडले मातिएको जंड्याहा झैँ धर्खराउंदै नयाँ सहश्राब्दीमा प्रवेश गरिसकेको छु । मेरो नाम चेत बहादुर । जात दलित । पेसा ढुङ्गा फुटाउने ,भारी बोक्ने यस्तै । शिक्षा सात कक्षा पास । पढ्दा पढ्दै घर व्यवहारको जाँतोमा पिसिएर बिचैमा पढाई छोड्न बाध्य भएको एउटा विवश नेपाली । मलाई यो देशले प्रदान गरेको मेरो परिचय , गणतान्त्रिक देशको सार्वभौमसत्ता सम्पन्न पिछडिएको तन्नम नेपाली रैती ।

एक दिन गाउँको चोकमा ठुला मान्छेहरू भेला भएका थिए । अवरुद्ध यात्राका उद्देश्यहीन यात्री जस्तै देखिएका थिए उनीहरू । म पनि उनीहरूको नजिकै थिएँ । मान्छेहरू देख्नलाई साँच्चै ठुला थिएनन् । कोही पुड्का , कोही मझौला भए पनि उनीहरूलाई गाउँका सबैले ठुला मान्छे मान्छन् । अतः म पनि उनीहरूलाई ठुलै मान्छे मान्दै आएको छु ।

यस्ता ठुला मान्छेहरू पहिला पनि हुन्थे ्र अहिले पनि छन् । यिनीहरूमा अन्तर केही पनि छैन । उनीहरू गाउँका निमुखा , गरिब र असहायहरूलाई परिस्थितिको जालमा पारेर आफ्नो स्वार्थको भकारी भर्दथे । पहिले र अहिले उनीहरूका बिचमा के फरक थियो भने पहिलेका ठुला मान्छेहरूले म जस्ता साना , सोझा सिधा मान्छेहरूलाई नचपाईकन स्वात्तै निल्थे । अहिले भने चपाई चपाई निल्छन् ।
अँ , चपाई चपाई निल्नु प्रजातान्त्रिक तरिका हो भनेर उनीहरू दाबी गर्ने गर्छन् । उनीहरूको बिचारमा नचपाईकन निल्नु बढी खतरापूर्ण काम हो । यसरी उनीहरूको स्वार्थको शासन एकछत्र चलिरहेको थियो ।

त्यसो त गाउँको चोकमा भएको उक्त भेला बारे कसैलाई पत्तो थिएन । उनीहरू केही सीमित ठुला मान्छेहरूको बैठक थियो । उनीहरूले गणतान्त्रिक कार्यविधि अपनाएका थिए । गणतन्त्रमा पनि केही सीमित ठुला मान्छेहरूले थाहा पाए पछि अरू सानातिना मान्छेहरूले थाहा पाइरहनु जरुरी पर्दैन भन्ने मान्यताको घोडामा सवार थिए उनीहरू । मैले चाहिँ उनीहरू नजिकै पुगेर मौनताको पर्खाल भत्काएँ । मैले भेलाको जानकारी लिन अलि सानु किसिमको ठुलो मान्छेको सहायता लिएको थिएँ । म जस्तै चौथो पटकमा सात कक्षा उत्तीर्ण र उपबुज्रुकको दर्जामा पुग्न पुग्न आँटेको रामेले पनि सोधेको थियो, “ अस्ति के को बैठक थियो हजुर ? ”

रामेको अनि मेरो अनुहारमा जिज्ञासाको दियालो बलेको देखेर सानो किसिमको ठुलो मान्छे अलि पछि हटेको थियो तर ठुलो खालको ठुलो मान्छे पछि हटेन । हातमा सन्तुष्टिको छडी नचाउँदै ठुलो मान्छे अट्टहासका साथ हाँस्न थाल्यो । मनको सागरमा उठेको आनन्दको ज्वारभाटालाई शान्त बनाउँदै उसले भन्यो , “ अव फेरि हामीलाई तिमीहरूको आवश्यकता परेको छ । ”

“ किन फेरि चुनाव आयो र हजुर ? ” रामेले एक कदम अगाडि बढेर ठुला मान्छे तिर होइन म तिर हेर्दै सोधेको थियो ।

“ त्यसो होइन रामे , चुनाव सुनाव केही आएको छैन । कुरो साधारण छ । सबै कुरा बिस्तारै भनी हाल्छौँ नि ! ” ठुलो मान्छेले आफ्नो पाईन्टमा लागेको धुलो झार्दै भन्यो र फेरि हाँसोको विमान उडाउन थाल्यो ।

ठुलो मान्छे हाँस्न थालेको देखेर म पनि हाँस्न थालेको थिएँ । म हाँसेको देखेर भाव नबुझी रामे पनि हाँस्न थाल्यो । हामीहरूको हाँसोमा आकाश जमिनको फरक थियो । ठुलो मान्छेको बल्ल बल्ल नेतामा बढुवा भएको निष्क्रिय कार्यकर्ताको दम्भयुक्त हाँसो थियो अनि रामेको आफू भन्दा बुज्रुक हाँस्दा उसको आनन्दको लागि हाँसी दिने हजुरियाको जस्तो हाँसो थियो । रामे र मलाई बाध्यताको हुरीले उडाएर यस्तो अवस्थामा ल्याइ पुर्‍याएको थियो ।

ठुलो मान्छेको हाँसोको बाढी घटी सकेको थियो । उ त्यहाँबाट दलबल सहित गइसकेको थियो । मैले उ पर पुगुन्जेल हेरेँ । किन किन मैले यतिखेर ठुलो मान्छेको सानु व्यक्तित्व देखिरहेको थिएँ ।

अघिल्लो दिनको ठुला मान्छेहरूको बैठकको कुरा गाउँका सबैले बुझे । नबुझे पनि जवर्जस्ती बुझाइए । बाटोमा ढुङ्गा, गिट्टी ,बालुवा थुपारेर बाटो जिर्णोद्वार गर्नु थियो । त्यसो त बाटो ठिकै थियो । बाटोको कुनै खराबी , सिकायत थिएन । गाउँभरिका सबै घरधुरीलाई कडा उर्दी जारी भएको थियो । सबै मिलेर श्रमदान गर्नु थियो । प्रत्येक घरबाट एक एक जना मानिस अनिवार्य रूपमा उपस्थित हुनु पर्ने नियम ठुला मान्छेहरूले बनाएका थिए ।

गाउँका साना मान्छेहरू बस्ने पल्लो टोलमा बाटो पुगेको थिएन । पिउने पानीको समस्या समाधान भएको थिएन अर्थात् साना मानिस बस्ने टोलमा केही थिएन । अनि ठुला मान्छेको टोलमा सबै कुरा थियो । पानीका धारा थिए । बाटो थियो । स्कुल थियो अर्थात् ठुला मान्छे बस्ने टोलमा सबै कुरा थियो । कहिले काहीँ ठुला मान्छेहरू ठट्टाको कुर्सीमा बसेर भन्ने गर्थे , “ विकासले विकास तान्छ । विकास भएकै ठाउँमा गर्नु पर्छ विकास । विकास नै नभएको ठाउँमा किन चाहियो विकास ? ”

ठुला मान्छेहरूको बिचारमा साना मान्छेहरू बस्ने टोलमा विकास जरुरी थिएन । केन्द्रबाट आउने विकास बजेट ठुला मान्छेहरूको लागि मात्रै हो भन्ने भ्रमको महलमा उनीहरू हुर्कँदै आएका थिए ।

उनीहरूको कुरा सुनी सके पछि एउटा उपबुज्रुक करायो । उसले आक्रोशको तरबार चलाउँदै भन्यो , “ बाटो त ठिकै छ । के गर्नु पर्‍यो फेरि ? कति दिन दिनु श्रमदान पनि ? फेरि एउटा टोलमा सधैँ हामीले नै खटिनु पर्ने ? आफ्नो गाउँमा खट्न पाए पनि एउटा कुरा !”

अब भने मलाई पनि अलिअलि बल मिलेको थियो । पीडाको भारी बिसाउँदै मैले पनि भनेँ , “ हामी जस्ता सम्पत्ति नभएका गरिब जनताले सधैँभरि श्रमदान गरेर के खाने , के लाउने ? आफ्ना लालावालालाई के खुवाउने ? यही हो गणतन्त्र भनेको ? ”

त्यतिखेर म यस्तो जोडले बोलेछु कि उनीहरूले त मलाई गरिब दुखीको नेतै पो सम्झेछन् । उनीहरूको मनको तलाउमा त्रासको लहर उर्लन थालेको थियो । हैकमको पर्खाल ढल्ने भयले उनीहरू आक्रान्त थिए । त्यसैले उनीहरू भित्र भित्रै विभिन्न षड्यन्त्रका जाल बुन्न थालेका थिए । पछि उनीहरूले मलाई बोलाउन दुई जना लठैतहरु पठाएका थिए तर म उनीहरूले बोलाएको ठाउँमा गइन । त्यसको भोलिपल्ट देखि उनीहरूले मलाई धम्कीको लौराले प्रहार गर्न थालेका थिए ।

उनीहरूले रामेलाई पनि प्रलोभनको डोरीले बाँधेर आफ्नू समूहमा प्रवेश गराइसकेका थिए । रामले स्वार्थको डोको बोकेर मेरो साथ छोडेपछि म नितान्त एक्लो भएँ । अरू साना मान्छेहरूलाई सम्झाउनु सामान्य कुरा थिएन । उनीहरू मृत चेतनाको ओछ्यानमा मस्त निदाइ रहेका थिए । उनीहरूलाई सम्झाउनु भन्दा त पहाड फोडेर समतल बनाउनु सजिलो थियो । त्यसैले त यस गाउँमा सदियौं देखि ठुला मान्छेहरूले एकछत्र शासन गर्दै आएका थिए ।

मलाई अव ठुला मान्छेहरूले पटक पटक धम्क्याउन थालेका थिए । उनीहरूको समर्थनमा उभिएर दासताको झन्डा उचालेदेखि गाउँमा बस्न दिने उनीहरूले मलाई पठाएको धम्कीको सन्देश थियो । दलालीको पंखा हम्कन्दै रामे ठुला मान्छेहरूको पछि लागेपछि उनीहरूको लागि बाँकी खतरा म मात्रै थिएँ ।

देश गणतन्त्रमय भएको निकै वर्ष भइसके पनि म जस्ताले अमनचैन पाउनु आकाशको फल जस्तै भइरहेको थियो । अझसम्म म जस्ता साना मान्छेहरू उनै ठुला मान्छेहरूको पैताला मुनि थियौँ । जुनसुकै सरकार आए पनि उनीहरूको धन्दामा कुनै छेकवार थिएन । जुनसुकै पार्टी सत्तामा पुगे पनि गाउँमा खासै फरक थिएन । म जस्ताको जीवन पद्धति एकै थियो । म जस्ता मान्छेहरू बकाइदा सार्वभौमसत्ता सम्पन्न भएका छौँ तर हाम्रा मौलिक हकहरू उनै ठुला मान्छेहरूको दया मायामा निहित छन् ।

त्यसो त चुनाव अघि केन्द्रका ठुला मान्छेहरू कुशल र सुनौला योजना लिएर गाउँघर सम्म आई पुग्थे । विकासको फल सर्वप्रथम निम्न वर्गका जनतालाई खुवाउने कुरा गर्थे । बडा शिष्ट ,नम्र भएर भोट माग्थे । बेरोजगारी र गरिबी हटाएर समुन्नत समाज निर्माण गरी देश विकास गर्छौँ भनेर कसम खान्थे अनि एक पटक हामीलाई सत्तामा पुर्‍याएर हेर्नोस् भन्थे । अनि सबै जनतालाई आश्वासनको चेक बाँडेर ठुला मान्छेहरू चुनाव जिती राजधानी फर्कन्थे तर चुनाव पछि फेरि गाउँ जस्ताको त्यस्तै रहन्थ्यो ।

अन्ततः ठुला मान्छेहरूको गाउँको बाटो जिर्णोद्वार भयो । साना मान्छेहरू ज्यान माया मारेर श्रमदान गरी भोकको तापले बाफिएर घरतिर फर्के । अनि उही अभावको गाँस निलेर निद्राको अँगालोमा गुटमुटिएर उन्नत समाजको सपना देख्न थाले ।

पछि त ठुला मान्छेहरूले बाटो निर्माण गर्न पाँच सय जना कामदार लागेको कागज बनाए । भरपाई कागज अनुसार श्रमिकहरूले दैनिक सात सय रुपैंयाका दरले ज्याला पाए । बिचरा गाउँलेहरूले आफूले दिनको सात सय ज्याला पाएको थाहै पाएनन् । कागजी व्यवहार थियो । भरपाईमा सहिछाप ठुला मान्छेहरूले नै गरिदिएका थिए । गाउँ पालिकाको यस वर्षको विकास बजेट पनि बाँकी रहेन ।
उनीहरू अर्को आर्थिक वर्षको बजेट खर्च तथा योजना तर्जुमा गर्न फेरि जुटिसकेका थिए । म भने आफू सार्वभौमसत्ता सम्पन्न भएको र गणतन्त्रको घाम लागेकोमा खुसीले गद्गद भएको थिएँ । अनि मेरो

गाउँमा रहेको अन्यायको झार उखेल्नका लागि गाउँलेहरूलाई उत्साहित बनाउँदै थिएँ ।

मैले गाउँलेहरूलाई जगाउन जागृतिको शंख जति बजाए पनि उनीहरू अझै ब्युँझि सकेका छैनन् । तैपनि मैले हार खाइसकेको छैन ।

एक दिन पक्कै साना मान्छेको झुपडीमा पनि खुसीको दियालो बल्नेछ । त्यो दिन अव धेरै टाढा छैन ।

 

 

* बागमती ११ , कर्मैया , सर्लाही हाल काठमाडौँ