अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४७ | Colorodo: 19:02

अमेरिकामा नेपालीलाई रूवाउँदै निर्देशक पाण्डेको ‘भाग्यले बाँचेकाहरू’

विश्वराज थापा, बाल्टिमोर २०७५ असार २९ गते १०:१३ मा प्रकाशित

संसारका प्रतिष्ठित चलचित्र महोत्सवमा डेढ दर्जन अवार्ड जित्न सफल भएको बहुचर्चित वृत्तचित्र फिल्म ‘भाग्यले बाँचेकाहरु’ले अमेरिकाबासी नेपालीहरूको मन जितेको छ । लमजुङ – अमेरिका सेवा समाजले बाल्टिमोरमा गरेको विशेष च्यारिटी सोमा अमेरिकाबासी नेपालीहरूले भाग्यले बाँचेकाहरुको मुक्तकण्ठले प्रशंसा गरे । ५५ मिनेटको वृत्तचित्र हेरिन्जेल कोही आँसु झार्दै थिए, कोही टोलाउँदै थिए । 

वृत्तचित्र हेर्न आइपुगेका नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत एवं वरिष्ठ लोकगायक प्रेमराजा महतले आफूले जीवनमा कहिल्यै पनि भाग्यले बाँचेकाहरु जस्तो उत्कृष्ट डकुमेन्ट्री नहेरेको बताए । नेपालको इतिहासमा अत्यन्तै राम्रो डकुमेन्ट्री बनेको भन्दै उनले भाग्यले बाँचेकाहरुका निर्देशक गणेश पाण्डेको प्रशंसा गरे । 

दर्शकदीर्घाको पहिलो पङ्क्तिमा बसेकी बाल्टिमोरमा रहेका नेपालीहरूको छाता संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिकन (बाना) की अध्यक्ष अनुशया वन्तले झन् आफूलाई सम्हाल्नै सकिनन् । भक्कानिएर रुँदै गरेकी उनले आफूहरू पनि भाग्यले नै बाँचेको बताइन् । एनआरएन मेरिल्याण्डका अध्यक्ष दुर्गाप्रसाद श्रेष्ठ, प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभुराम थापा, बाल्टिमोर आमा समूहकी अध्यक्ष काजिङ गुरुङ, उपाध्यक्ष सुवर्ण लामा, बानाका वरिष्ठ उपाध्यक्ष सुबोधविलास पन्त, पूर्वउपाध्यक्ष शतिश चापागाईं, शिव मल्ल, प्रकाश श्रेष्ठ लगायत भक्कानिरहेका देखिन्थे ।

कार्यक्रममा लमजुङ – अमेरिका सेवा समाजका अध्यक्ष शशी थापाले सर्वाधिक चर्चामा रहेको डकुमेन्ट्री बाल्टिमोरबासीलाई देखाउन पाउँदा आफूहरू निकै हर्षित भएको बताए । 

‘भाग्यले बाँचेकाहरु’ हेरेर भक्कानिएका लमजुङ समाजका अध्यक्ष थापा र उनकी धर्मपत्नी अप्सरा कुँवर थापाले भाग्यले बाँचेकाहरुका पात्र अर्घाखाँचीका ऋषि खनाललाई व्यक्तिगत रूपमा दुई सय डलर रुपैयाँ प्रदान गरेका छन् । भूकम्पमा परेर खुट्टा गुमाएका ऋषिकी धर्मपत्नी कविताको पनि अहिले स्वास्थ्य खराब भएकाले उनको उपचारका लागि थापा दम्पतीले सहयोग गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष अरुणआकाश श्रेष्ठले लमजुङ समाजका तर्फबाट निर्देशक पाण्डेलाई निर्देशक पाण्डेलाई सम्मान गरेका थिए भने महासचिव रमेशकुमार श्रेष्ठले भाग्यले बाँचेकाहरु कार्यक्रम सफल बनाउन सहयोग गर्ने बाल्टिमोरबासी नेपाली र स्वयमसेवकहरुलाई धन्यवाद दिए ।

नेपालको महाभूकम्पमा परी चमत्कारिक रूपमा बाँच्न सफल नेपालीको कथामा बनेको वृत्तचित्र ‘भाग्यले बाँचेकाहरु’ले १७ वटा अन्तर्राष्ट्रिय अवार्ड जितेको छ भने ३२ भन्दा बढी देशमा प्रदर्शन भइसकेको छ । यसअघि अमेरिकाको मेरियटा चलचित्र महोत्सवमा समेत प्रथम बन्न सफल यो वृत्तचित्र १३ वटा अन्तर्राष्ट्रिय भाषामा अनुवाद भइसकेको छ ।

साइन मिडिया प्रालिका तर्फबाट शारदा गैरेले निर्माण गरेको यस डकुमेन्ट्री छायाङ्कन विनोद विष्ट, सम्पादन कुमार शाह, सङ्गीत जुगल डङ्गोल, लेखन सपना शाक्य र दीपक कोइरालाले गरेका छन् भने अमेरिकन चलचित्रकर्मी जोजाय हुपरले परामर्शदाता सम्पादकको रूपमा काम गरेका छन् । सन् २०१५ को डिसेम्बरमा भएको काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतारोहण चलचित्र महोत्सव (किम्फ) मा उत्कृष्ट डकुमेन्ट्री र पब्लिक च्वाइस अवार्ड जितेपछि यसको अवार्ड यात्रा आरम्भ भएको हो ।

यो वृत्तचित्र आगामी जुलाई १५ आइतबार र २० तारिख शुक्रवार शेर्पा किदुङको हल न्यूयोर्कमा प्रदर्शन हुँदैछ । कार्यक्रमको तयारी भव्य रूपमा भइरहेकोले भाग्यले बाँचेकाहरु हेर्नका लागि उपस्थित भइदिन युनाइटेड शेर्पा एसोसिएसनका अध्यक्ष उर्देन शेर्पाले आग्रह गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू