अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै क्रोएसिया फाइनलमा प्रवेश

बिआरटीनेपाल २०७५ असार २७ गते १५:१२ मा प्रकाशित

इङ्ल्यान्डलाई हराउँदै क्रोएसिया रुसमा जारी विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रङ्गशालामा गएराति भएको सेमिफाइनलमा इङ्ल्यान्ड अतिरिक्त समयमा २–१ ले पराजित भयो ।

खेलको पाँचौँ मिनेटमै इङ्ल्यान्डले अग्रता लियो । डी एरिया नजिक पाएको फ्री किक अवसरमा किरण ट्रिपियरले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिएका हुन् । दोस्रो हाफमा क्रोएसियाले एक गोल फर्कायो । ६८ औँ मिनेटमा सिमे भ्रसाल्कोको पासमा ईभान पेरिसिचले गोल गर्दै टोलीलाई खेलमा फर्काएका हुन् ।

निर्धारित ९० मिनेटको समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको समय सकिन ११ मिनेट बाँकी छँदा क्रोएसियाले एक गोल थप्यो । ईभाँ पेरिसिचको पासमा भेट्रान स्ट्राइकर मारियो मान्डुकिचले उक्त गोल गरेका हुन् । मान्डुकिचको सोही गोल क्रोएसियालाई विश्वकपको फाइनलमा पु¥याउन निर्णायक बन्यो ।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको क्रोएसियाले अब उपाधिका लागि आइतबार फ्रान्सको सामना गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तेस्रो पटक विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको हो । पराजित टोली इङ्ल्यान्डले भने तेस्रो स्थानका लागि शनिवार बेल्जियमसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू