अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३४ | Colorodo: 16:49

विश्वकप फुटबलः इङ्ल्यान्ड र क्रोएसिया वीच आज प्रतिष्पर्धा हुदै

बिआरटीनेपाल २०७५ असार २७ गते ८:२६ मा प्रकाशित

रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार राती इङ्ल्यान्ड र क्रोएसिया भिड्दैछन । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो ।

आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ । सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ । ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ ।

जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ । उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ । सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ ।

रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरको बनाएका छन् । यी दुई टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ ।

दुई टोली एक आपसमा ८ पटक भिडेका छन् । जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया दुई पटक विजयी भएको छ । बाँकी दुई खेल बराबरीमा सकिएका छन् ।

प्रतिक्रिया