अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३७ | Colorodo: 16:52

गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौं – नेकपा नेता योगेश भट्टराई

बिआरटीनेपाल २०७५ असार २७ गते ८:१८ मा प्रकाशित

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पार्नुभएको हो ।

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौँ आएर उपचार गरिसकेपछिको वार्तामा बस्न आग्रह गर्नुभयो । जनताको शिक्षा, स्वास्थ्य, खाने पानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौँ र कहिले जुम्ला पुगेर अनसन बस्न नपर्ने उल्लेख गर्नुभयो ।

जायज मागलाई सकारात्मक रूपमा लिन सकिने भए पनि केसीले नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले लगानी गरेको कलेजलाई सम्बोधन नदिने खेल खेलेको आरोप समेत लगाउनुभयो । अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताउनुभयो ।

माथेमा प्रतिवेदन सुझाव मात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उहाँको भनाइ छ । नेपाल चिकित्सक सङ्घले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराईले आपत्ति जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू