अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१९ | Colorodo: 04:34

नेपाल संस्कृति, कला र ज्ञानमा धनी: प्रधानमन्त्री केपी शर्मा ओली

बिआरटीनेपाल २०७५ असार २६ गते १३:५१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संस्कृति, कला र ज्ञानमा धनी रहेको बताउनु भएको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठानस्थित ‘पुस्तकालय भवन र प्रज्ञा आधुनिक छापाखाना उद्घाटन तथा २०५ औँ भानु जयन्तीका अवसर’मा आयोजित कार्यक्रममा उहाँले नेपाल आर्थिक अवस्थामा पछि रहेपनि अन्य देशभन्दा संस्कृतिमा धनी रहेको बताउनुभयो ।

‘‘ठुला ठुला देशमा नभएको भाषा, संस्कृति हामीसित रहेको छ’’, उहाँले भन्नुभयो– ‘‘हाम्रा सहर कलामय छन् । यहाँका झ्याल ढोका, भित्ता कलामयताले सजिएका छन् । ’’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यहाँका संस्कृति, कला, साहित्यलाई व्यूँत््याई अद्यावधिक गर्न आवश्यक रहेको भन्दै सरकारले नेपालको प्राज्ञिक, सांस्कृतिक, कला र शिक्षा क्षेत्रमा अगाडि बढाउने बताउनुभयो ।

उहाँले विश्वकै ‘हाइट’ र ‘लाइट’ अर्थात् अग्लो शिखर सगरमाथा र लाइट अफ एसिया पनि भनिने गौतमबुद्धको जन्मभूमि नेपाल नै रहेको उल्लेख गर्नुहुँदै प्रकृतिले दिएको स्वच्छताले नेपाल ज्ञानभूमि र तपोभूमि रहेको बताउनुभयो । उहाँले प्रतिष्ठान राष्ट्रका प्रबुद्घ व्यक्तिको समूह रहेकाले यसलाई खाँदिलो बनाउन आवश्यक रहेको भन्दै प्रतिष्ठानलाई प्रभावकारी बनाइने बताउनुभयो ।

अर्को वर्ष साक्षरता अभियानलाई सफल पारी मुलुकबाट निरक्षरता हटाउने उहाँको भनाइ रहेको थियो । उहाँले सबैलाई आफ्नो जीवनलाई सहज बनाउने र आजको दुनियाँसँग प्रतिस्पर्धा गर्ने खालको शिक्षा दिइनेसमेत बताउनुभयो ।

हामी कसैको थिचोमिचो र औपनिवेशिक दबाबमा नरहेकाले अब नेपाललाई नयाँ दिशा दिन नयाँ कदमका साथमा काम गरेर अगाडि बढाइने उहाँले बताउनुभयो । प्रधानमन्त्रीले नेपाल सुशासन र विकासको युगमा प्रवेश गरिसकेको भन्दै यस अभियानमा सबै जुट्न आवश्यक रहेको धारणा समेत राख्नुभयो ।

प्रधानमन्त्री ओलीले आफू भारत भ्रमणमा गएको र भारतीय प्रधानमन्त्री नेपाल भ्रमणमा आएपछि नेपाल र भारतबिचमा धेरै कुराले गति लिएको बताउनुभयो । ‘‘हामीले प्रवुद्ध समूह गठन गरेर सन् १९५० को सन्धि पुनरावलोकन गरिरहेका छौँ’’, उहाँले भन्नुभयो–‘‘सीमा, व्यापारलगायत क्षेत्रका समस्यासमेत समाधानको काम समेत अगाडि बढेको छ ।’’ उहाँले भानुभक्त आचार्यले नेपालको राष्ट्रियता भाषिक सूत्रमा बाँध्ने काम गरेको भन्दै नेपालको भाषा र साहित्यमा उहाँले उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पूर्वाधारको विकाससँगै प्राज्ञिक क्षेत्रको गतिविधि बढाएर संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनुभयो । उहाँले पुस्तकालयले नेपाल र भारत बिचको सम्बन्धलाई साहित्यबाट जोड्न सहयोग पु¥याउने बताउनुभयो । नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले नेपाल र भारतबिचको सम्बन्ध पौराणिक रहेको उल्लेख गदै साहित्यमा थप सम्बन्ध बढाउनका लागि पुस्तकालयले भूमिका खेल्ने बताउनुभयो ।

उहाँले भारत सरकारले नेपालमा सम्पन्न गर्ने आयोजना चाँडै नै पूरा गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पुस्तकालयले संस्कृति र साहित्यमा द्विपक्षीय सम्बन्ध स्थापित गर्ने बताउनुभयो ।

उहाँले संस्कृतिको विकासका लागि प्राज्ञिक क्षेत्रको विकास आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका डिभिजन प्रमुख वसन्तकुमार राईले कूल रु चार करोड १२ लाख २६ हजार रुपैयाँमा तीनतले पुस्तकालय भवन निर्माण गरिएको जानकारी गराउनुभयो ।

कूल १२ वटा कोठा रहेको उक्त भवनमा किताब बँैक, अध्ययन कक्ष र विद्युतीय पुस्तकालय रहेका छन् । पुस्तकालयमा भाषा, संस्कृति र अन्य विषयका करिब ४० हजार पुस्तक रहेको प्रतिष्ठानका प्रशासन प्रमुख ज्ञानहरि अधिकारीले जानकारी गराउनुभयो ।

यसै गरी, प्रधानमन्त्री ओलीले आजै प्रज्ञा छापाखानाको उद्घाटन गर्नुभयो । जर्मनीबाट रु ११ करोड रुपैयाँमा खरिद गरी ल्याइएको उक्त छापाखानामा नेपाली भाषा तथा साहित्य सम्बन्धी पुस्तक छापिने प्रशासन प्रमुख अधिकारीले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू