अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३९ | Colorodo: 18:54

थाइल्यान्डको गुफामा फसेका सबै १३ जनालाई सकुशल निकालियो

बिआरटीनेपाल २०७५ असार २६ गते ७:४६ मा प्रकाशित


२६ असार, पोखरा ।
थाइल्यान्डको एउटा गुफामा फसेका सबै १३ जनाको उद्धारकार्य १७ दिनपछि टुंगिएको छ । मंगलबार बाँकी रहेका ३ किशोर फुटबलर र एक प्रशिक्षकलाई सकुशल निकालिएपछि १७ दिनदेखिको तनावको नाटकीय अन्त्य भएको हो ।
एउटा विशाल गुफामा थुनिएका एकजना फुटबल प्रशिक्षक र १२ जना विद्यार्थीमध्ये पाँच बालकलाई सोमबार बाहिर निकालिएको थियो । यसअघि गत आइतवार चारजना बालकलाई पहिलो लटमा बाहिर निकालिएको थियो ।
थाइल्याण्डको उत्तरी क्षेत्रमा रहेको गुफामा जुन २३ तारिखदेखि थुनिएकाहरुलाई बाहिर निकाल्ने काम मंगलबार टुंगिएको हो । स्थानीय समय अनुसार मंगलबार अपरान्ह तीन खेलाडी र प्रशिक्षकलाई गुफाबाट बाहिर निकालिएको हो । दिनभरीको प्रयासपछि गोताखोरहरुको टोलीले उनीहरूलाई बाहिर निकालेर उद्धार अभियानको नाटकीय अन्त्य गरेका हुन् ।
१० किलोमिटर लामो गुफाभरी पानी भरिएकाले किशोरहरु र प्रशिक्षकलाई निकाल्न करिब ४ महिना लाग्ने थाई सेनाले बताएको थियो । तर विश्वभरका उद्धारकर्मी केन्द्रित भएर यसलाई १७ दिनमै टुंगोमा पु¥याएका हुन् ।
बाहिर निकालिएका बालकहरूलाई हेलिकोप्टर मार्फत् सिधै चियाङ रायमा रहेको अस्पताल लगिएको छ । घुम्न गएका बेला बाढी आएर गत जुलाई २३ तारिखका दिन उनीहरु गुफामा फसेका थिए । हराएको दिनदेखि खोजी सुरु भए पनि दशौँ दिनमा उनीहरूको अवस्था पत्ता लागेको थियो ।
अत्यन्त कठिन र चुनौतीपूर्ण उद्धारकार्यकका क्रममा एकजना उद्धारकर्मीले ज्यानै गुमाएका थिए । उद्धारका लागि अन्तराष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको थियो । उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा एम्बुलेन्स पनि पूर्ण तयारी अवस्थामा राखिएको थियो ।
उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको थियो । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्यास बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको थियो । गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको थियो । यिनै चिम्नीहरुबाट सबै १३ जनालाई निकालिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू