अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

पोर्चुगलमा २०५ औँ भानु जयन्ती विशेष बाल कविता तथा चित्रकला प्रतियोगिता भव्यरुपमा सम्पन्न

बिआरटीनेपाल २०७५ असार २५ गते १०:५९ मा प्रकाशित

लिस्वोन, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पोर्चुगल तथा नेपाली नारी समाज पोर्चुगलद्धारा संयुक्त रूपमा आयोजित २०५ औँ भानु जयन्ती विशेष बाल कविता तथा चित्रकला प्रतियोगिता राजधानी लिस्वोनमा सम्पन्न भएको छ । 

पोर्चुगलको नेपाली डायस्पोरामा आयोजित उक्त बाल कविता तथा चित्रकला प्रतियोगिताको औपचारिक कार्यक्रम पोर्चुगलका लागि नेपाली पर्यटनदूत तथा अनेसास, पोर्चुगलका सल्लाहकार रमेश कुमार गुरुङ्गद्धारा द्धिप प्रज्वलन गरी उद्घाटन गरिएको थियो ।

अनेसास, पोर्चुगलका अध्यक्ष बाइ बि गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलका अध्यक्ष कुबेर कार्की, आयोजक तथा नेपाली नारी समाज, पोर्चुगलकी अध्यक्ष तथा अनेसास, पोर्चुगलकी सल्लाहकार सीता बराल लगायतका वक्ताहरूले विशेष अतिथिको रूपमा हुनुहुन्थ्यो । 

बाल कविता तथा चित्रकला प्रतियोगितामा करिब ३० भन्दा बढी बालबालिकाहरूले प्रत्यक्ष सहभागी भएका थिए । ५ वर्ष देखी १८ वर्ष सम्मका बालबालिकाहरूको क्षमता अभिवृद्धि तथा उनीहरू भित्र रहेको कला उजागर गर्ने उद्देश्य अनुरूप आयोजना गरिएको उक्त प्रतियोगिताबाट उत्कृष्ट ६ जना बालबालिकाहरूको कविता तथा चित्र प्रकाशोन्मूख अवस्थामा रहेको “डायस्पोरा बाल पुस्तक” मा प्रकाशित गर्ने कुरा आयोजकले जानकारी दिएका छन् ।

चित्रकला प्रतियोगितामा ५ वर्ष देखी १० वर्ष सम्मका र १० वर्ष देखी १८ वर्ष उमेर सम्मका गरी दुई समूह गरेर प्रतियोगिता गराइएको थियो जसमा पहिलो समूह अन्तर्गतबाट पहिलो, दोस्रो र तेस्रो क्रमशः सदिक्षा पौडेल, प्रशान्त पौडेल र निर्जल पौडेल थिए भने दोस्रो समूहबाट मानस्वी खरेल, लिसन कोइराला र वर्षा पौडेल क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका थिए । भने कविता प्रतियोगितामा प्रगति सापकोटा (पहिलो), कृति कंडेल (दोस्रो) र जस्टीना सुवेदी (तेस्रो) भएका थिए भने लाक्पा डोमा शेर्पाले सान्त्वना पुरस्कार जितेका थिए ।

यसरी विजेता सम्पूर्ण बालबालिकाहरूलाई प्रमुख अतिथि र विशेष अतिथिद्धारा प्रमाण—पत्र तथा पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा प्रमुख निर्णायकको भूमिका निर्वाह गर्नुहुने ध्रुव घिमिरे, विजय गुरुङ्ग र सुनिल परियारलाई सम्मान स्वरूप प्रमाण—पत्र प्रदान गरिएको थियो । 

निक्कै सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली राष्ट्रिय गीत गाएर सुरु गरिएको कार्यक्रममा प्रतियोगितामा सहभागी बालबालीकहरुले आफ्नो कविता वाचन गरेका थिए भने अनेसासको १८औँ श्रृङ्खला रचना वाचन कार्यक्रममा दर्जन भन्दा स्रष्टाहरूले आ—आफ्नो रचना वाचन गरेका थिए ।

कार्यक्रम अनेसासका वरिष्ठ उपाध्यक्ष कृष्ण कँडेल “जिज्ञासु”ले सञ्चालन गरेका थिए भने कार्यक्रममा अनेसासका उपाध्यक्ष कमल प्रसाद सापकोटा तथा नेपाली नारी समाजकी उपाध्यक्ष निर्मला खरेलले स्वागत समन्वय राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू