अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१० | Colorodo: 05:25

संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिई विदेश जान लागेकाले उहाँलाई रोकिएको: प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ असार २५ गते १०:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताउनुभयो ।

“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो”–प्रधानमन्त्री ओलीले भन्नुभयो, “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रममार्फत लागू गर्छ । यसमा आत्तिनु पर्दैन ।”

प्रधानमन्त्रीले बेमौसममा कराउनेहरु केही दिनमा आफैँ चुप लाग्नेसमेत स्पष्ट पार्नुभयो । उहाँले शान्ति प्रक्रियाका केही अवशेष पनि अब चाँडै नै टुंग्याइने धारणा राख्नुभयो । प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयकलगायतका विषयमा सांसदलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभयो ।

काठमाडौँमा १० वर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बोधन नदिने जस्ता कुरा व्यवहारिक नभएको प्रधानमन्त्रीको भनाइ थियो । “कुन विषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौँ अनि आवश्यकताअनुसार कलेजलाई सम्बोधन दिऔँ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।

संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको प्रधानमन्त्री ओलीले बताउनु भएको थियो । “सरकारले आफ्ना नीतिअनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र” प्रधामन्त्रीले थप्नुभयो । संस्कृत विश्वविद्यालयका उपकुलपति स्वीकृत नलिई विदेश जान लागेकाले उहाँलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू