अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२६ | Colorodo: 04:41

राजपाले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने

बिआरटीनेपाल २०७५ असार २४ गते २२:३१ मा प्रकाशित

काठमाडौँ। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संविधान संशोधनका लागि सरकारलाई दबाब दिने भएको छ । राजपा अध्यक्ष मण्डलको आज बसेको बैठकले संविधान संशोधनका लागि सरकारलाई दबाबस्वरुप प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गर्ने निर्णय गरेको बुझिएको छ ।

यद्यपि, संविधान संशोधनबारे सरकारको ध्यानाकर्षणबारे आज छलफल भए पनि टुङ्गो नलागेको र भोलि सोमबार पुनः बस्ने अध्यक्ष मण्डलको बैठकले निर्णय गर्ने राजपा अध्यक्षमण्डलका सदस्य अनिल झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “संविधान संशोधनको विषयमा छलफल भयो तर भोलि विमान संसदीय दलको बैठक बस्ने र लगत्तै अध्यक्षमण्डलको बैठकबाट निर्णय हुनसक्छ ।”

अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पनि संशोधनको विषयबारे भोलिको बैठकले निर्णय लिने बताउनुभयो । सरकारलाई समर्थन गरेको राजपाले समर्थन फिर्ता लिने या नलिनेबारे अनिर्णित छ । संविधान संशोधनको विषयको स्पष्टतापछि मात्रै राजपाले निर्णय लिने नेताहरूले बताएका छन् । बैठकले पछिल्लो संसदीय काम कारबाहीको समीक्षा गर्न सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।

त्यसै गरी, राजपाले पार्टीको भ्रातृ संगठनहरुको नामाकरण गर्ने निर्णय गरेको छ । अध्यक्ष मण्डलका सदस्य अनिल झाका अनुसार भार्टीका सबै जनवर्गीय सङ्गठनको अगाडि राष्ट्रिय र पछाडि सङ्घ राखिनेछ । बैठकले प्रदेश २ मा सरकार सञ्चालनका लागि समन्वय गर्न समिति गठन गर्ने पनि निर्णय गरेको छ । सङ्घीय समाजवादी फोरमसँग समन्वय गरेर चाँडै समिति गठन गरिने नेता झाले बताउनुभयो । प्रदेश २ को नीति आयोगलाई पनि चाँडै पूर्णता दिने राजपाले उल्लेख गरेको छ । 

फाइल फोटो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू