अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 08:50

नौ महिनामा एक लाख ७२ हजार ७८० घर पुनर्निर्माण

बिआरटीनेपाल २०७५ असार २४ गते १०:४४ मा प्रकाशित

काठमाडौँ । नौ महिनाको अवधिमा भूकम्पले भत्किएका एक लाख ७२ हजार ७८० घर पुनर्निर्माण भएका छन् । कात्तिक पहिलो साता पुनर्निर्माण सम्पन्न घर ६२ हजार ६१४ रहेकामा आजसम्म प्राधिकरणमा प्राप्त तथ्याङ्कअनुसार त्यो सङ्ख्या दुई लाख ३५ हजार ३९४ पुगेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आज यहाँ आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा ३९ हजार ७८१ लाभग्राही गुनासोबाट थपिएको जानकारी दिनुभयो । कात्तिक पहिलो सातासम्म ४० हजार ९६७ लाभग्राही गुनासो सम्बोधनबाट थपिएका थिए । हालसम्म ८० हजार ७४८ लाभग्राही गुनासो सम्बोधनबाट थप भएका छन् ।

“म प्रमुख कार्यकारी अधिकृत नियुक्त भएर आउनुअघिसम्म एक लाख ४७ हजार ६३५ घर पुनर्निर्माण सुरु भएका थिए, हाल पाँच लाख चार हजार ६२ पुगेको छ, पौने नौ महिनाको अवधिमा तीन लाख ५६ हजार ४२७ घर पुनर्निर्माण सुरु भएका छन्, यो मेरोमात्र प्रयासले भएको होइन प्राधिकरणका सबै कर्मचारीको यसमा सहयोग छ, मैले त संयोजन मात्र गरेको हुँ”–उहाँले भन्नुभयो ।

नौ महिनाको अवधिमा एक लाख ८१ हजार ९९८ ले तेस्रो किस्ता पाएका छन् । कात्तिक पहिलो सातासम्म १२ हजार ७२६ ले मात्र तेस्रो किस्ता पाएको प्राधिकरणले जनाएको छ । हाल यो सङ्ख्या एक लाख ९४ हजार ७२४ पुगेको छ ।

नौ महिनाको अवधिमा एक हजार ३२९ शैक्षिक संस्था, ७२ सुरक्षा निकायका भवन, ३९१ स्वास्थ्य संस्था, १२२ सरकारी भवन, ५५ पुरातात्विक सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भई प्रबलीकरण सूचीमा यो अवधिमा २७ हजार ६३ घर प्रमाणित भई सूचीकृत भएका छन् ।

जोखिममा रहेका १८ हजार ५०५ परिवार पनि नौ महिनाको अवधिमा पहिचान गरिएको छ । यस अवधिमा अनुदान रकम अग्रिम निकासा पठाई अभाव हुन नदिएको, पुनः सर्वेक्षणबाट प्राप्त एक लाख गुनासोको सम्बोधन गरी भूकम्पपीडित सरकारी अनुदान पाउनबाट नछुट्नू भन्ने प्रत्याभूति गराइएको पनि भुसालले बताउनुभयो ।

मन्त्रिपरिषद्को असार २० गतेको निर्णयअनुसार आफू पदमुक्त भएकामा दुःख नलागे पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रवार दिएको पत्रमा नौ महिना काम गरेकामा धन्यवादसमेत नदिइएकामा भने उहाँले पत्रकार सम्मेलनमा असन्तुष्टि गर्नुभयो ।

भुसाललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । भुसाल पूर्वसचिव हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू