अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

टर्की सरकारद्धारा १८ हजार ६३२ कर्मचारी बर्खास्त

बिआरटीनेपाल २०७५ असार २४ गते १०:३९ मा प्रकाशित

अङ्कारा । टर्कीको सरकारले यहाँका करिब १८ हजार ६३२ कर्मचारीलाई बर्खास्त गरेको समाचार छ । सरकारले आइतबार एक निर्देशिका जारी गर्दै ती कर्मचारीलाई बर्खास्त गरिएको जनाएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

यसरी बर्खास्त हुनेमा सरकारी गैरसैनिक कर्मचारी, सैनिक अधिकारी, प्रहरी र विश्वविद्यालयका प्राध्यापकहरू समेत रहेका बताइएको छ । सरकारले आइतबार आकस्मिक रूपमा एक निर्देशिका जारी गरेर बर्खास्त गरिएकामा नौ हजार जना प्रहरी मात्र रहेका बताइएको छ ।

बर्खास्त प्रहरीमा अधिकृत स्तरका कर्मचारी धेरै रहेका छन् । आतङ्ककारी समूह या संगठनहरुसँग ती कर्मचारीको सम्बन्ध रहेको पाइएको भन्दै ती कर्मचारीलाई बर्खास्त गरिएको हो । बर्खास्त भएकामा ३ हजार ७७ जना सैनिक अधिकारी पनि रहेका छन् । ती सैनिकमा १ हजार ९४९ जना हवाई सैनिक र १ हजार १२६ जना जलसैनिक रहेका सरकारका प्रवक्ताले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यसरी बर्खास्त गरिएकामा १ हजार ५२ जना निजामती कर्मचारी अधिकृत छन् । विश्वविद्यालय र विद्यालयका २०० जना प्राध्यापक र शिक्षक पनि सो सरकारी आदेश अनुसार बर्खास्त हुनेमा परेका बताइएको छ । सन् २०१६ को जुलाई महिनामा टर्कीका राष्ट्रपति रिसेप तैयब एर्दोगानका विरुद्धमा यहाँ सैनिक विद्रोहको असफल प्रयास भएको थियो । त्यसपछि भने राष्ट्रपति एर्दोगानले आफ्ना विरोधी मानिएका सेना, प्रहरी, गैरसैनिक कर्मचारी तथा विश्वविद्यालयका प्राध्यापकहरूलाई जेलहाल्ने, सेवाबाट बर्खास्त गर्ने तथा अरू विविध खालको कारबाही गरेका थिए । त्यस समयदेखि आजसम्म अर्थात् २ वर्षसम्म यहाँ सङ्कटकालीन अवस्थाको घोषणा गरिएको छ । यो अवस्थाको कम्तीमा पनि सात पटकसम्म अनुमोदन गरिएको छ ।

अहिले पनि यहाँ सङ्कटकालीन अवस्था नै छ । यहाँ जारी रहेको सङ्कटकालीन अवस्थाको यही जुलाई १९ मा अन्त्य हुने तालिका छ । तर त्यस अगावै यहाँको सङ्कटकालीन अवस्थाको फाइला उठाउँदै सरकारले यति ठुलो सङ्ख्यामा कर्मचारीलाई कारबाही र बर्खास्त गरेको समाचार आएको छ । राष्ट्रपति एर्दोगानले आफ्ना विरुद्ध गरिएको यो असफल प्रयासको फाइदा उठाउँदै देशभित्र आफ्ना सबै विरोधीहरूलाई सक्ने अभियान नै चलाएको भन्दै उहाँको कदमको व्यापक मात्रामा विरोध भएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू