अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

मन्त्री अधिकारीद्वारा महोत्सव उद्घाटन

बिआरटीनेपाल २०७५ असार २३ गते १०:०० मा प्रकाशित

राष्ट्रिय अभिलेखालयको आयोजनामा नेपालमै पहिलोपटक पोखरामा अभिलेख महोत्सव सुरु भएको छ । फेवाताल किनारको नेपाल पर्यटन बोर्ड परिसरमा तीन दिनसम्म चल्ने महोत्सवमा पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, अन्तर्कृया गोष्ठी हुनेछन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले शनिवार महोत्सव उद्घाटन गर्दै नेपालको इतिहास संसारकै प्राचीनतम इतिहास रहेको उल्लेख गरे । उनले अभिलेखालयको महत्त्वबारे प्रकाश पार्दै यसको संरक्षणमा इतिहासका विज्ञ र विद्यार्थीको महत्त्वपूर्ण भूमिका रहने बताए ।

उनले पोखरास्थित क्षेत्रीय सङ्ग्रहालयलाई क्षेत्रीय अभिलेखालय र सङ्ग्रहालयको रूपमा विकास गर्ने घोषणा समेत गरे । कार्यक्रममा प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्ग, पृथ्वीनारायण क्याम्पस पोखराका इतिहास तथा संस्कृति विभाग प्रमुख ज्ञानबहादुर कार्कीलगायतले अभिलेखको महत्त्वबारे बोलेका थिए ।

अभिलेखालयका प्रवक्ता कुमार श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गइसकेको हुँदा प्रदेश स्तरमा पनि विभिन्न महŒवपूर्ण डकुमेन्ट्री बन्दै जाने भएकाले त्यसको उचित ढङ्गले सुरक्षा आवश्यक रहेको बताए । उनले विगतबारे जानकारी तथा आगामी योजना एवं विकास निर्माणको खाका कोर्दा अभिलेखको ज्यादै महत्त्वपूर्ण भूमिका हुने बताए । उनले राष्ट्रिय अभिलेखालयसँग विभिन्न मुलुकले सहकार्य गर्न चाहेकोसमेत जानकारी दिए ।

महोत्सवको पहिलो दिन अन्तर्कृयामा पृथ्वीनारायण क्याम्पसका पूर्वक्याम्पस प्रमुख प्रा.डा. दिलबहादुर क्षेत्रीलगायतले कार्यपत्र प्रस्तुत गरे ।

२५ वर्षभन्दा पुराना कागजात, भिडियो, अडियो, तस्बिर अभिलेखका रूपमा राष्ट्रिय अभिलेखालयले सुरक्षा गर्दै आएको छ । महोत्सवमा विभिन्न अभिलेखका ८५ तस्बिर प्रदर्शनीमा राखिएका छन् । जसले पुराना अभिलेखबारे जान्न मद्दत पुर्‍याउँछ । भाषा, धर्म, इतिहास, सरकारी कागजातको अभिलेखअन्तर्गत कालामन्त्रबाट बाँच्न साँचो खोल्ने ग्रन्थको परिचय, गिल्गिट लिपिमा लेखिएको प्राचीन हस्तलिखित ग्रन्थ, ११औं शताब्दीमा पाली भाषामा लेखिएको प्रसिद्ध ग्रन्थ पाली भाषा विनय, इस्वी ८१० मा उत्तर लिच्छवी लिपिमा लेखिएको स्कन्दपुराण, लुम्बिनी अशोक स्तम्भमा पाली भाषा तथा ब्राह्मी लिपिमा लेखिएको अभिलेख, पोखरास्थित विन्ध्यवासिनी मन्दिरको बाहिरी ढोकाको शिलापत्र, पोखरा विजयपुरको कुलो तयार गरेको बारेको बिन्तीपत्र, पाल्पा, कास्की र लमजुङमा मान्छे पठाउनेबारेको लालमोहर, १९५८ साल जेठ ३ मा प्रकाशित गोरखापत्रको पहिलो अङ्कलगायत छन् ।

इतिहासविद्, प्राध्यापक, विद्यार्थीलगायत अभिलेखमा रुचि राख्ने जोकोहीका लागि महोत्सव फलदायी हुने राष्ट्रिय अभिलेखालयका नासु इन्द्रबहादुर खड्काले बताए । अभिलेख सुरक्षाका लागि नेपालमा २०२४ सालमा राष्ट्रिय अभिलेखालयको स्थापना भएको हो । यस खालको महोत्सव मुलुकका अन्य सहरमा पनि गर्दै जाने बताइएको छ ।

विशेषगरी अभिलेखको सुरक्षा कसरी गर्ने, किरा, ढुसी, धमिराबाट कसरी जोगाउने, अभिलेख सुरक्षा क्रममा घामको तापक्रम, आर्द्रता कति राख्ने भन्नेबारे पनि जानकारी दिइने प्रवक्ता कुमार श्रेष्ठले बताए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू