अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५२ | Colorodo: 02:07

नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

बिआरटीनेपाल २०७५ असार २३ गते ९:०१ मा प्रकाशित

नेपाली सङ्गीत, लोकनृत्य, लोकनाट्य, गायन तथा लोकगायन क्षेत्रमा पाँच दशकभन्दा लामो समय योगदान पुर्‍याएका ६ स्रष्टा पुरस्कृत भएका छन् । उपराष्ट्रपति नन्दबहादुर पुनले ती ६ स्रष्टालाई शुक्रवार अपराह्न आफ्नै कार्यालयमा २०७४ सालको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार प्रदान गरे । जनही १ लाख १ रुपैयाँ र ताम्रपत्रद्वारा यी कलाकारलाई नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

कार्यक्रममा शास्त्रीय सङ्गीततर्फको पुरस्कार अग्रज वाद्यवादक एवं शास्त्रीय सङ्गीतकार पुष्परत्न तुलाधरलाई प्रदान गरियो । यस्तै, ६ दशकदेखि लोकसंगीतमा सक्रिय गायक एवं रचना संकलक एलपी (लक्ष्मीप्रसाद) जोशीले लोकसंगीततर्पmको नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्राप्त गरे ।

यस्तै, आधुनिक गीततर्फको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा पुरस्कार ६ दशकभन्दा लामो समयदेखि गीत लेखनमा सक्रिय गीतकार किरण खरेललाई प्रदान गरियो । सोही कार्यक्रममा नृत्यसम्बन्धी नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट ६ दशकदेखि यो क्षेत्रमा क्रियाशील अग्रज अभिनेत्री एवं नृत्य कलाकार सुभद्रा अधिकारीलाई पुरस्कृत गरियो ।

यस्तै, नाट्यतर्फको राष्ट्रिय प्रज्ञा पुरस्कार ६ दशकभन्दा लामो समयदेखि मल्लकालीन नाट्यको अनुसन्धानमा सक्रिय अनुसन्धानकर्ता प्रा.डा. रामावतार यादवलाई प्रदान गरियो । यस्तै, नाट्यतर्फ नै पाँच दशकभन्दा लामो सयमदेखि नाटक क्षेत्रमा क्रियाशील नाट्यकर्मी मदनदास श्रेष्ठलाई नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कारबाट पुरस्कृत गरियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनले सो कार्यक्रममा पाँच दशकभन्दा लामो समयदेखि सङ्गीत, नाट्य, अभिनय, नृत्य, गायन, गीतलेखन, वाद्यवादन क्षेत्रमा सक्रिय स्रष्टाहरूलाई सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका तर्फबाट स्रष्टा परिचयपत्र प्रदान गरे । ‘नेपाली मौलिक लोकसंगीत, लोकनृत्य, लोकनाटकको संरक्षण गर्न सके मात्र मौलिक संस्कृतिको संरक्षण हुने र नेपालको पहिचान जोगिने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू