अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

डा केसी आकस्मिक कक्षमा भर्ना

बिआरटीनेपाल २०७५ असार २२ गते २२:३९ मा प्रकाशित

सुर्खेत, स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएपछि वरिष्ठ हाडजोर्नी चिकित्सक डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भर्ना गरिएको छ ।

पाँच दिनदेखि जुम्लामा अनशनरत डा केसीलाई प्रतिष्ठानको शिक्षण अस्पताल, जुम्लाको आकस्मिक कक्षमा बुधवार साँझ भर्ना गरिएको हो । स्वास्थ्य निकै गम्भीर अवस्थामा पुगेपछि एम्बुलेन्सबाट उहाँलाई अस्पतालमा पु¥याइएको प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाले जानकारी दिए ।

‘अनशनस्थल नै जोखिमपूर्ण भएको र उहाँको समस्या बल्झिन थालेपछि हामी अस्पताल लैजान बाध्य भयौँ’, डाइरेक्टर रोकायाले भने । डा केसीलाई अस्पताल पु-याएसँगै सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापा र प्रहरी नायव उपरीक्षक डा तपनकुमार दाहालले उनीसँग भेट गरेका थिए ।

स्वास्थ्यजस्तो संवेदनशील कुरामा ध्यान दिएर डा केसीको उपचारका लागि कुनै कसर बाँकी नराख्न चिकित्सकलाई निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी बुढ्थापाले बताए । यता डा विनोद अर्यालले एक्कासि डा केसीको मिर्गौला र छातीमा समस्या आएपछि उनलाई अस्पताल लैजानुको विकल्प नरहेको जनाए ।

डा अर्यालले भने, ‘निषेधाज्ञालाई तोडेर भए पनि उपचारार्थ डा केसीलाई प्रतिष्ठानमा पु-याएका छौँ, आशा गरौँ स्वास्थ्यमा सुधार आउला ।’ उनका अनुसार चिकित्सकको निरन्तर प्रयासले मात्र अस्पताल लान सम्भव भएको हो । नत्र डा केसीको जीवन झनै खतरायुक्त बन्दै जाने अवस्था रहेको उनको भनाइ थियो ।

उनलाई सघन उपचार कक्षमा राखिएको प्रतिष्ठानले जनाएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै आएका उनले विभिन्न व्यवधानको बिच जुम्लाको विद्युत् लगायत कुनै सेवा नभएको कभर्डहलमा १५ औँ पटकको अनशन शनिवारदेखि सुरु गरेका थिए ।

आइतबारदेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएपनि सरकारले मागको सुनुवाइ नगरुञ्जेल अनशन नतोड्ने अडान उनले राख्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू