अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

नेपाली भाषामा ऐतिहासिक उपलब्धि- प्रा.डा. लुइटेल

बिआरटीनेपाल २०७५ असार २२ गते ९:१३ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानबाट अमानक वर्णविन्यासमा छापिएको नेपाली बृहत् शब्दकोश (२०७२) खारेजीका लागि यस सञ्जालले मिति २०७३–७–२२ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिज्यू र उपकुलपतिज्यूसमक्ष मानक वर्णविन्याससम्बन्धी अवधारणापत्र बुझाएको र सो सम्बन्धमा पटकपटक पत्राचार गर्नाका साथै उहाँहरूसँग भएका गम्भीर छलफलपश्चात् सञ्जालसँग भएको सहमति बमोजिम हाम्रा अवधारणालाई सम्बोधन गरी मिति २०७३–७–३० को प्राज्ञ परिषद्को बैठकबाट नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली बृहत् शब्दकोश (२०७२) खारेज गरेको कुरा सर्वविदितै छ । नेपालमा सरकारी निकायबाट प्रकाशित शब्दकोश यसरी खारेज गरिएको यो पहिलो घटना हो र यस्ता घटना विश्वमै देखिएका छैनन् ।

केही विलम्ब गरेर भए पनि नेपाल प्रज्ञा प्रतिष्ठानले हालसालै संशोधित–परिमार्जित रूपमा नेपाली बृहत् शब्दकोश दसौँ संस्करण प्रकाशित गरेको छ । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको सशक्त नेतृत्व र दबाबमा यो शब्दकोश प्रकाशन हुनु नेपाली भाषाको मानकीकरणका लागि भएको ऐतिहासिक भाषा आन्दोलनको विशिष्ट उपलब्धि र तमाम नेपाली भाषीका लागि गौरवको कुरा भएकाले यसलाई हामी हार्दिकता पूर्वक स्वागत गर्दछौँ । यस शब्दकोशमा बाँकी रहेका केही कसरमसर क्रमशः संशोधन–परिमार्जन गर्दै लगिनुपर्छ ।

यस सञ्जालको अवधारणा अनुरूप शब्दकोशको प्रकाशनमा सक्रियता देखाउनु हुने प्रतिष्ठानका कुलपतिज्यू, उपकुलपतिज्यू तथा संशोधन समितिलगायत सम्बद्ध कर्मचारीहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ । भाषा बिगार्नेहरूका विरोधमा सङ्घर्ष गर्दै मानक नेपाली वर्णविन्यासको पुनर्स्थापना गर्ने हाम्रो अभियान र आन्दोलनमा सहयोग गर्नु हुने सञ्जालका सल्लाहकारज्यूहरू, सदस्यहरू, विभिन्न सङ्संस्थाहरूका साथै संसारभर छरिएर रहेका तमाम नेपाली भाषाप्रेमी महानुभावहरू, सञ्चारकर्मी मित्रहरू सबैप्रति हार्दिक आभार प्रकट गर्दछौँ ।

नेपाली भाषा विरोधी केही व्यक्तिको स्वार्थमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश (२०७२) प्रकाशित हुनु नेपाली भाषाको इतिहासमै दुर्भाग्यपूर्ण घटना थियो र यस्तो घटना पुनः कहिल्यै नदोहोरियोस् । मानक नेपाली भाषालाई भत्काउने प्रयत्न आगामी दिनमा कोही कसैबाट नहोस् र यस सञ्जालले पनि मानक नेपाली भाषाका पक्षमा पुनः कहिल्यै आन्दोलन गर्नु नपरोस्, यदि गर्नु परेमा संसारभरका सबै नेपाली भाषाप्रेमीहरूले यसरी नै एकजुट भएर सञ्जाललाई साथ दिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ ।

नेपाली बृहत् शब्दकोश (२०७२) खरिद गर्नुभएका महानुभावहरूमध्ये कसैले त्यसको सट्टा दसौँ संस्करण लिन चाहनुभएमा यस सञ्जालसँग भएको सहमतिबमोजिम नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पर्क राख्नुहुन समेत सूचित गरिन्छ । 

 

प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू